सम्मोहन संवार्ता
आफू चरित्रहीन भएर उपदेश दिने साहित्य लेख्नु बेइमानी नै हुन्छ- भविलाल लामिछाने
नेपाली
साहित्यको उत्थानका लागि नेपालबाहिरबाट नेपालीभाषीहरुको प्रयास प्रशंसनीय
मात्र छैन, अनुकरणीय नै छ । खासगरी, भारतबासी नेपालीभाषीहरुको महत्वपूर्ण
योगदानले नेपाली साहित्य समृद्ध बन्दै गएको इतिहास हाम्रा सामु साक्षी छ ।
आसाम, दार्जिलिङ, सिलिगुढीजस्ता स्थानहरु नेपाली साहित्यका विशिष्ट
प्रतिभाहरु जन्माउन सफल छ । तिनै साहित्यकारहरुका रगत पसिनाको सुगन्धले
नेपाली साहित्य आजसम्म मगमगाइरहेको छ । यसरी नै नेपाली साहित्यमा आसाम र
सिलिगुढीका विभिन्न स्थानबाट योगदान गर्दै आउनुभएका स्रष्टा हुनुहुन्छ
भविलाल लामिछाने । सन् १९५० मार्च ६ मा नेपालकै धौलागिरी अञ्चलको पर्वत
जिल्लाअन्तरगत बलेवामा माता पवित्रा लामिछाने र पिता देविदत्त लामिछानेका
सुपुत्रका रुपमा जन्मिनुभएका लामिछाने एक सेवानिवृत्त शिक्षक पनि हुनुहुन्छ
। अनागत, शब्द हुन् यी मेरा, असमाप्त पाइलाहरु, शीर्षकहीन, एउटा घर यस्तो,
केही गजल† केही नज्म, गजल, बादलपारिको देश, कसका लागि, हासिए के पलजस्ता
कथा, कविता, गजल, बालकविताका कृति प्रकाशन गरिसक्नुभएका भविलाल लामिछाने
प्रवासी नेपाली साहित्य समाज, असम नेपाली साहित्य परिषद्सँग आबद्ध हुँदै र
स्वतन्त्र रुपमा साहित्य साधना गरेबापत हरिभक्त कटुवाल स्मृति पुरस्कार,
पुष्पलाल उपाध्याय स्मृति पुरस्कार, अभिजमान स्मृति पुरस्कार, बाबा
अम्बेडकर साहित्य सम्मानबाट पनि सम्मानित र पुरस्कृत भइसक्नुभएको छ ।
नेपाली भाषा र साहित्यका लागि मरिमेट्ने साहित्यिक अभियन्ता लामिछानेसँग
नेपाल आएका बेला सम्मोहनका लागि गरिएको वार्ताको सम्पादित अंश प्रस्तुत छः
कस्तो छ भारतमा रहेर साहित्य साधना गर्नुको स्थिति ?
भारतमा मात्र होइन जुनसुकै देशमा बसेर साहित्य साधना गर्नेहरु पनि सङ्घर्ष गरेर नै बाँचेका छन् । उनीहरुका लागि एकातिर बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर पहिचानका लागि गर्नुपर्ने सङ्घर्ष । साहित्यमा पनि त्यो सङ्घर्षको प्रभाव देखिन्छ । साहित्यको मूल नै सङघर्ष बनेको छ झन् हाम्रा लागि त ।
सङ्घर्ष कोसँग हो यहाँहरुको ? त्यहाँको राज्यसँग कि अन्य कुनै वर्गीय सङ्घर्ष ?
हामी नेपाली हौं, त्यहाँ गएर बसेका छौं । हामी त्यहाँका कहिल्यै पनि हुन सक्दैनौं । ‘तिमीहरुको नेपाल छ, जाओ’ भन्ने डर सधैं रहन्छ । ‘त्यसो हो भने हामी यहाँबाट निस्कन्छौं हाम्रो दार्जिलिङ हामीलाई फिर्ता देऊ’ भन्ने खालको आन्दोलन पनि हामीले गरेका छौं ।
भनेपछि यहाँहरुको त नेपालका पूर्व शासकले सन्धी गरेर नेपालका भूभाग भारतमा विलिन गराएकोमा पनि गुनासो रहेछ ।
हाम्रो लागि त्यो सबभन्दा ठूलो दुर्भाग्य हो । भारतमा बस्ने नेपालीहरुप्रति ठूलो अन्याय के भएको छ भने नेपालका थुप्रै भूभाग सुगौली सन्धीअन्तरगत भारतमा गाभिए, त्यसभन्दा अघि त त्यहाँ नेपाली नै थिए होलान् नि तर अहिले त्यो भूभागमा एकजना पनि नेपाली छैनन् । भारत सरकारसँग पनि यो कुरा राख्दा गोलमटोल उत्तर आउँछ । हामी यदि विदेशी हौं भने त्यस भूभागमा सन् १८१६ को सुगौली सन्धीबाट नेपालीहरु कहाँ गए जवाफ दिनुस् भन्दा उनीहरु चुप लाग्छन् ।
यहाँहरुको चाहना चाहिँ भारत सरकारले यहाँहरुलाई भारतीय भनिदेओस् भन्ने हो कि नेपाली नै भनिदिनुप¥यो भन्ने हो ?
हामी के चाहन्छौं भने नेपालबाट भारतमा मात्र होइन संसारका अरु देशमा पनि गएका छन् । ती सबै नेपाली यदि नेपाल नै फर्कने हो भने देशले थेग्नै गाह्रो हुन्छ, यसले अर्को समस्या ल्याउला तर हामी जहाँ बस्छौं हामी नेपालीकै पहिचान लिएर नै बस्न चाहन्छौं ।
यहाँहरुले यस्ता विषय समेटेर लेख्नुभएको साहित्यिक रचनाको प्रभाव चाहिँ कस्तो छ त्यहाँ ?
खास गरी बुद्धिजीवी समाजले यसको समर्थन गरेका छन् । नेपालीमा लेखिएका कृतिहरु अन्य भाषामा पनि अनुवाद हुने क्रम जारी छ । यसले गर्दा पनि धेरै राम्रो भएको छ ।
नेपाल छोडेर किन भारत जानुभयो ?
गाउँकै एक सामन्तको जालमा परेर मेरो अढाइ वर्षको उमेरमा हामी परदेशिनुप¥यो । पिताजी ब्रिटिश सेनामा कार्यरत हुनुहुन्थ्यो । मेरी आमा म सानै हुँदा हैजाका कारण बित्नुभएको हो, बलेवामा हजुरआमा र म मात्र बस्थ्यौं, सामन्तले त्यो पनि बुबाकै मित्रले हजुरआमालाई पूरै घरजग्गा राजीनामाको कागजमा सही छाप गराएछ, बुबाले त्यो कुरा थाहा पाएपछि मित्रले नै त्यसो गर्छ भने म फर्कन्नँ त्यो ठाउँमा भन्नुभयो । त्यसपछि हामी यतै भयौं । अहिले जन्मभूमि जाँदा निकै भावुकता आउँछ मनमा । अहिले बाटो पुगेछ, स्कुल बनेछ, अरु खासै परिवर्तन देखिएन तर अझै पनि मानिसहरु बाहिरिने क्रम जारी नै छ । म त चाहन्छु, कोही पनि गाउँ छोडेर जानुनपरोस् । सबै यहींं बसेर काम गर्ने हो भने त नेपाल कम्तीमा पनि एसियाको धनी देश हुने थियो । अझै पनि जन्मभूमिमै फर्केर केही काम गरूँजस्तो लाग्छ ।
प्रवासमा बस्नुभएको छ । प्रवासी भन्दा कतिपय भारतमा बस्ने नेपालीहरु अलिकति बेखुसी हुने पनि गर्छन् नि ?
प्रवासी भन्दा शङ्का उत्पन्न के हुन्छ भने भारत सरकारले पनि नेपाली नै भनेर हेप्ने, नेपालीले पनि प्रवासी भन्दा हाम्रो खास थलो कुन हो त नि ? भारतमा बसेर सम्पूर्ण भारतीय संस्कार अँगाले पनि नेपाली नै हाम्रो पहिचान हो । नेपालमा बस्ने मात्र नेपाली होइन, नेपाली एउटा जाति हो, ऊ जहाँ बसे पनि उसको संस्कृति, भाषा, साहित्य नेपाली नै हो ।
साहित्यिक यात्रा कसरी सुरु गर्नुभयो ?
भारतमा आसामको डिग्बोइ म हुर्केबढेको, मेरो पढाइलेखाइ भएको र जागिर खाएको ठाउँ हो । त्यहाँ आसाम आयल कम्पनी थियो । त्यसले खोलेको एओसी नेपाली एम इ स्कुलमा मैले नेपाली माध्यममै कक्षा ६ सम्म पढें । नेपाली कविताका एक चर्चित कवि हरिभक्त कटुवाल त्यहाँका शिक्षक हुनुहुन्थ्यो । उहाँकै कविता सार्दासार्दै उहाँकै प्रभावमा मैले पनि कक्षा ४ मा पढ्दा ‘बन्दी चरीप्रति’ शीर्षकको कविता लेखें । कटुवालले नै सच्याएर नेपालबाट निस्कने रुपरेखा पत्रिकाको २००औं कविता अङ्कमा सन् १९६१मा प्रकाशन गरिदिनुभयो ।
हरिभक्त कटुवालका विद्यार्थी पनि हुनुहुन्छ, कटुवालका विषयमा अलिकति बढी जानकार भएका नाताले कसरी सम्झनुहुन्छ कटुवाललाई ?
उहाँ प्रतिभाका त खानी नै हुनुहुन्थ्यो र नेपाल भनेपछि मरिमेट्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो नाम प्रवासी लेख्नुहुन्थ्यो तर साथीहरुले प्रवासी भनेर हेपे भने झगडा गर्नुहुन्थ्यो । नेपालीका विरुद्ध एक शब्द पनि सुन्न नचाहने स्वभाव उहाँको थियो ।
लेखकका रुपमा उहाँ कत्तिको इमानदार हुनुहुन्थ्यो ?
मैले उहाँको विषयमा ‘नोष्टाल्जियामा हरिभक्त’ भन्ने पुस्तक लेखेको छु । विभिन्न बाध्यताले लेखन र वैयक्तिक चरित्रमा केही विरोधाभास भेटिन्थ्यो । व्यक्ति कटुवाल र साहित्यकार कटुवालबीच भिन्नता देखिन्थ्यो । आसाममा आधुनिक नेपाली कविता लेखनको जग बसाल्ने पुष्पलाल उपाध्याय हुनुहुन्थ्यो । उहाँपछि कटुवाल, कृष्णप्रसाद ज्ञवाली र गोपिनारायण प्रधानलाई हामी बिर्सन सक्दैनौं । उहाँको लेखन त बेजोड नै छ, त्यस्तै उहाँ भइदिनुभएको भए कति राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ ।
मदिरा सम्झिन्छन् नि हरिभक्त भन्नेबित्तिकै मान्छेहरु ?
उहाँ १९६२ सम्म पिउनुहुँदैनथ्यो त्यति धेरै । एकपटक नेपालमा कवि गोष्ठीमा आउनुभयो । त्यहाँ कविता वाचन गरेर पुरस्कार पनि लिएर फर्किनुभयो । त्यतिखेर काठमाण्डौमा धेरै साहित्यकारसँग उहाँको भेट भएपछि बल्ल साहित्यकार कस्ता हुन्छन् भन्ने मैले चिनें भन्नुहुन्थ्यो । त्यसपछि उहाँमा परिवर्तन आयो र बढी नै पिउन थाल्नुभयो । उहाँको पारिवारिक जिन्दगीमा पनि निकै उतारचढाव आयो । तपाईं ‘यो जिन्दगी खै के जिन्दगी’मा ‘सुनगाभा’ भन्ने शब्द निकै भेट्नुहुन्छ । त्यसले उहाँको जिन्दगीमा निकै प्रभाव पा¥यो ।
को थियो सुनगाभा ?
कुरा उठेपछि भन्नैप¥यो । वास्तवमा त्यो उहाँकै विद्यार्थी रत्ना खड्का थिइन् । उनलाई पनि गायिका र नायिका बनाउनुभयो तर उहाँहरुबीच औपचारिक सम्बन्ध स्थापित हुन सकेन, कटुवाल विवाहित पनि हुनुहुन्थ्यो पहिले नै । यहाँसम्म कि आजसम्म सुनगाभा अविवाहित रहिन् । त्यो सम्बन्धमा आएको फाटोका कारण उहाँले झन् बढी पिउन थाल्नुभयो ।
लेखकको व्यक्तिगत जीवन र लेखनबीच तादात्म्य कस्तो हुनुपर्छजस्तो लाग्छ ?
लेखनका माध्यमबाट हामी समाजलाई केही दिन खोज्छौं । यदि म सही लेखनमा लाग्छु भने मैले कम्तिमा ९० प्रतिशत त्यो आदर्श अङ्गिकार गर्नैपर्छ । आफू चरित्रहीन भएर उपदेश मात्रै दिँदा मेरो कुरा कसले मान्छ र ¤ त्यो त बेइमानी नै हुन्छ ।
भारतमा बस्दा हिन्दीमा पनि लेख्नुहुन्छ होला । कुन भाषामा लेख्दा बढी सन्तुष्टि पाउनुहुन्छ ?
नेपालमा बसेकाले पनि हिन्दी वा अङ्ग्रेजीमा लेखिरहेका छन् तर आफ्नो मातृभाषामा लेख्नुको आनन्द अन्यमा लेख्दा पाइँदैन, भलै अन्य भाषाका रचना बढी गुणस्तरीय नै किन नहोऊन् । हुन त मैले हिन्दी भाषाको पुस्तक पनि निकालें । आफ्नै भाषामा मनका भावना वा विचार जति सशक्त तवरबाट प्रस्तुत गर्न सकिन्छ, त्यो अन्य भाषामा जति नै मिहिनेत गरे पनि सम्भव हुँदो रहेनछ । हिन्दीमा सम्पूर्ण रुपमा भिज्नुभएका र स्थापित हुनुभएका प्रसिद्ध गीतकार गोपालसिँह नेपालीले पनि नेपाली कविता नलेखी रहन सक्नभएन । जेमा जसरी लेखे पनि नेपाली भावना र मनले लेखिन्छन् त्यसैले नेपाल नै रचनाको केन्द्र हुन्छ ।
नेपालमा बसेर लेख्ने साहित्यकार र नेपालबाहिर बसेर लेख्नेहरुको साहित्यमा के भिन्नता देख्नुहुन्छ ?
नेपालको साहित्यकारका रचना निकै गुणस्तरीय हुँदै आएका छन् । यहाँ लेखेर मात्रै पनि बाँच्न सक्ने अवस्था आएको रहेछ, यो निकै खुसीको कुरा हो । उतातिर प्रकाशकको निकै अभाव छ । पुस्तक प्रकाशन गर्नुप¥यो भने कहाँ ऋण खोज्न हिँड्ने भन्ने चिन्ता हुन्छ । साहित्यिक गतिविधि भने राम्रै सहकार्यपूर्वक हुँदै छ ।
अन्त्यमा ?
साहित्य राम्रो लेख्न सकियो भने राष्ट्रलाई डो¥याउने डोरी बनाउन सकिन्छ । हामी भारतमा बसेर त्यही प्रयास गर्दै छौं ।
प्रस्तुतीः रुपिन्द्र प्रभावी
No comments:
Post a Comment