पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रममा कथाकार सुमन ‘वर्षा’ द्वारा लिखित 'अभ्यन्तर' कथा सङ्ग्रहको परिचर्चा गरिएको छ ।
शनिवार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले स्रष्टा जहिले पनि कुनै न कुनै भ्रमका बिचमा बाँच्ने र भ्रमकै बिचबाट उत्कृष्ट साहित्य सिर्जना गर्ने कुरा बताए । नेपाली साहित्यमा विज्ञान कथाको इतिहास लामो भए पनि इतिहास लेखनका दृष्टिले खासै काम हुन नसकेको उनको तर्क थियो । विज्ञानप्रविधि जस्ता विषयलाई आधार बनाएर 'क्लोन' जस्ता कथा लेखेकोमा उनले कथाकारप्रति खुसी व्यक्त गरेका थिए ।
कथा सङ्ग्रहको स्वरपक्षमाथि बोल्दै डा. सविन्द्रराज भण्डारीले सङ्ग्रहका प्रत्येक कथा विषयगत नवीनताका दृष्टिले उत्कृष्ट रहेका बताए । कथाले सामाजिक विकृति विसङ्गतिको यथार्थ प्रस्तुति गर्नुका साथै स्वैरकल्पनाका माध्यमबाट सुदूर नेपाली समाजको चित्रण गरेको उनको तर्क थियो ।
अर्का परिचर्चाकार डा. भूमिराज बस्ताकोटीले कथासङ्ग्रहको शिल्पपक्षमाथि चर्चा गरेका थिए । कृतिमा केही नवीन र अधिकांशत: पुरानै शैलीगत ढाँचाको प्रयोग भए पनि केही कथामा बुनोट सिप र प्राञ्जल भाषाको प्रयोगले निकै प्रभावकारी देखिएको उनको भनाइ थियो ।
कार्यक्रममा कथासङ्ग्रहमाथि सारसंक्षेपमा टिप्पणी गर्ने कार्य संस्थाका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले गरेका थिए भने त्रिविका सिनेटर कमलराज सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा कथाकार सुमन वर्षाले कृति प्रकाशित भइसकेपछि त्यो लेखकको नभई पाठकको हुने र त्यसलाई विभिन्न आधारमा विश्लेषण गर्न सकिने तर्क गरेकी थिइन् । संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव डा. पिताम्बर पौडेलले गरेका थिए भने उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा संस्थाकी आजीवन सदस्य इन्दु सुवेदी पौडेलले रचना वाचन गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका
संस्थापक,
आजीवन एवं साधारण सदस्यहरू, अन्य संघसंस्थाका
प्रतिनिधि तथा शुभेच्छुक महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई
सफल बनाउन रोबस्ट एजुकेसन कन्सल्टेन्सी र पोखरा आदर्श माध्यमिक विद्यालयले सहयोग
गरेका थिए ।
No comments:
Post a Comment