काठमाडौं । साहित्यकार क्षितिज मगरको कथासङ्ग्रह 'भेडीकम्बलको प्वाल' सार्वजनिक भएको छ । शनिबार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरूको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे ।
जनयुद्धका
समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत
रहेकी होलिका केसीले बताइन् । 'दर्जनौँ लडाइँमा हामी सँगै लड्यौं । पहिले उहाँ बन्दुक
चलाउनुहुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ,' केसीले भनिन्,
'दुःखी गरिबको पक्षमा कलम
चलाइरहनुहोला ।'
नेपाली
वर्ग सङ्घर्षमा आफूहरू गुमनाम रहेको उल्लेख गर्दै केसीले यस्ता पात्रको पक्षमासमेत
कलम चलाउन आग्रह गरिन् । 'नेपाली वर्ग सङ्घर्षमा हामी गुमनाम छौँ । हामीलाई पनि
समेट्नुहोला,' उनले भनिन् ।
साहित्यकार
एवम् पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको सुरुवाती चरणको
वृत्तान्त सुनाए । विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, 'लोककथा सुनाउँदा
एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो । त्यो पहाडलाई गमागमेरी भन्न थालियो । पछि
जलजला भन्न थालियो । पहाडको काखमा एकातिर थवाङ थियो, अर्कोतिर जलजला थियो । ती
पहाडमा मगरहरू बस्थे । त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो । त्यसले
दुखको कुरा गर्यो । आँधीको कुरा गर्यो । त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो ।
ती मास्टरसँग के भन्यो भने म मरेँ भने मेरो लास पहाडको फेदमा गाड्दिनू । त्यो
देशमा संयोगले आँधी सिर्जना भयो । त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली
फेर्नुपर्छ यो ठाउँ, यो समाजको काँचुली फेर्नुपर्छ । फ्युडल क्यापिटलिजम
यस्तायस्ता कुरा फेर्ने हो । आँधी चलेछ । आँधी चलिसकेपछि त्यहाँका रुख पात अङ्गप्रत्यङ्ग
हल्लिए । हल्लिँदै जाँदा जेलबाङको सानोसानो बड्डो, जसको भर्खरै जुँगाका रेखीहरू
बस्न थालेका थिए । स्कुलका झोलाहरू फालेर हिँडे किनकि उसका पनि साना सपनाहरू थिए ।
हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो ऊ । धेरै लडे आँधीमा । ऊ सदस्य हुँदै
कमान्डर हुँदै गयो । सहयोद्धाहरू गुमायो । खुसी गुमाएका पीडाहरू अक्षरमा पोखिन
थाले । आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ । गीतकार पनि भएछ । बड्डो पछि १२
बुँदेमा ब्रेक लागेछ । त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ ।'
भेडीकम्बलको
प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए । कथाहरू मगर संस्कृतिले
सजिएकोसमेत उनको भनाइ थियो। 'यहाँ जेलबाङको भाषा छ । सिङ्गै जेलबाङ बोकेको छ । सबै पात्र
त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,'
उनले भने, 'क्षितिज
मगरका कथा मान्छेका कथा हुन् ।'
साहित्यकार
भावेश भुमरी आफैँ लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा भावुक
बनेका थिए । 'क्षितिज बुबाबाट पढ्न सिक्थे । बुबाले ३६ लेखेको क्षितिजले
६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे । राजनीतिक खिचातानीले कक्षा १० को
पढाइ बिग्रियो । ५२ सालमा एसएलसी दिनुभएको । दिउँसो इक्ज्याम दिन जान्थे । राती
नेताहरूलाई भेट्थे । नेताहरू त्यतिखेर भन्थे, बुर्जुवा शिक्षा नपढ ।
नेताहरूलाई भेटेको देखेर सेनाको निगरानीमा परे । एसएलसी राम्रो भएन,' भावेशले
क्षितिजले युद्ध सुरु गरेको कथा झिके, 'त्यसपछि एसएलसी दिन बसेको डेरा छाडेर कुम्लो
कुटेरो बोकेर गाउँ लागे । गाउँमा छिमेकको घरमा भाँडाकुँडा थन्क्याएर जनयुद्धमा
लागे । गीत लेख्ने । गीत गाउने पनि । कलाकारितालाई देखेर क्षितिजलाई जनसेना बन्न
माथिल्लो नेताहरूले प्रेरित गरे । 'गण्डक अभियान'मा लागे उनी । यसमा कसरी हमला गरे
भन्ने विषयहरू उल्लेख छ ।'
त्यसपछि
भावेशले युद्धताका क्षितिजको भूमिकाको प्रसङ्ग उप्काए अनि १२ बुँदे सम्झौता र सेना
समायोजनको कुरा । 'आर्मीका क्याम्पमा कसरी आक्रमण गर्ने योजना बनाउन अहिलेका
उपराष्ट्रपति नन्दकिशोर पुनको नेतृत्वमा खट्थे । उनी सेनाको ब्यारेक छेउछाउ पुगेर
फोटो खिचेर लान्थे । त्यही फोटोको आधारमा माओवादी भिड्न निस्कन्थे । घमासान युद्ध
हुन्थ्यो । २०६२/६३ पछि उघा क्याम्पमा हामी बस्न गयौँ । २०० साहित्यकार पुग्न
पाएका थियौँ । त्यहाँ कविता भन्नुभएको थियो । उघाबाट हामी स्वर्गद्वारी गयौँ । उहाँ
४ जना बडी गार्ड बोकेर आउनुभएको थियो । शान्ति प्रक्रियामा शैक्षिक योग्यताको कुरा
आयो । समायोजनमा शैक्षिक योग्यताअनुसारको कुरा आयो । अन्डर एसएलसी भएपछि उहाँले
स्वेच्छिक अवकाश रोज्नुभयो,' उनले भने ।
लेखक
यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसङ्ग भावेशले निकाल्दा क्षितित पटकपटक
भावुक बनेका थिए । 'पछि जीवन एकदम परिवर्तन भयो । श्रीमती छोराछोरी पाल्नैपर्यो
। मलाई फोन गरेर भन्नुभयो, मेरो बुबा भीरबाट लडेर बित्नुभयो । म पनि रोएँ ।
त्यसपछि ज्यामी काम गर्नुभयो । बडीगार्ड बोकेर हिँडेको ब्यक्ति रसातलमा पुग्नुभयो
तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ,' भावेशले भने ।
त्यसपछि
मात्र भावेशले किताबमा भएका कथाहरूबारे आफ्नो भनाइ राखे । 'जनयुद्धअघिका कथाहरू
माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका
षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्र प्रेमका
कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि
माओवादीमा लागेको कथाहरू छन् । ओहो ! म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ,' भावेशले
आफ्नो भनाइको अन्त्यमा भने ।
यस
कथासङ्ग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा
रहेको उल्लेख गर्दै कथाहरू सशक्त रहेको बताए । 'कथाहरूमा पात्र सामान्य हुन्छन् । सबै पात्र
जिउँदा हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो
बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् ।
यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो,' प्रधानले भने, 'कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको
तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रूपमा त यो भेडीकम्बलको प्वाल
सशक्त लाग्छ ।'
कथाकार
अझै युद्धको मोर्चामा रहेको ठम्याइ प्रधानको रह्यो । क्षितिजले मोर्चा मात्र
परिवर्तन गरेको तर्क उनको थियो । 'जनसेनाबाट सर्वसाधारणका रूपमा रुपान्तरण
हुनुभएको छ । अहिले राजनीति सत्ता केन्द्रित रहेछ । परिवर्तन त तपसिलका कुरा
रहेछन् । यो नाङ्गो सत्यका रूपमा आइपुगेको छ । जसले बन्दुक बोकेको थियो,' प्रधानले
भने,
'आज
त्यो व्यक्ति कलमरूपी अस्त्र बोकेर अर्को मोर्चामा आउनुभएको छ । उहाँले मोर्चा मात्र
परिवर्तन गर्नुभएको हो । अब उहाँले परिवर्तनका लागि कलम चलाउनुहुन्छ ।'
जनयुद्धमा
वैचारिक स्खलनका कुराहरू भए पनि कथामा प्रहरीका मनोविज्ञानका कथाहरू पनि आएकोमा
आफूलाई खुसी लागेको उनको भनाइ थियो । 'सामाजिक कुरा छन् । राजनीतिक कुरा छन् । वैचारिक
स्खलनका विषयहरू पनि छन् । यसमा जनयुद्धका आफ्ना कथाहरू मात्र छैनन् । प्रहरीका
कथा पनि छन् । प्रहरीका मनोविज्ञानका कथाहरू पनि छन् । प्रहरीले जनयुद्धमा कसरी
मार्यो । अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ,' प्रधानले
भने ।
लेखक
क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले
पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाइ थियो । 'युद्धलाई दुई तरिकाले
विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्को अति नकारात्मक,' लेखक
मगरले भने, 'सत्ता बन्दुक हो । बिनाबन्दुक सत्ता चल्दैन । हैन भने
राज्यले बन्दुक फालेर राज्य चलाओस् त ।'
गणतन्त्रस्थापनापछि
एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएका जनसेना एक दिन बेरोजगार भएर डकैती गरी
खाने ठोकुवा गरेकोमा चित्त नबुझेको रहेछ उनलाई । यही किताब लगेर जबाफ दिने तयारी
रहेकोसमेत उनले सुनाए । 'एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएकाहरू कति अब गुन्डा
र डाँका गरी खान्छन् भन्थे तर म लेखक भएको छु । उहाँलाई यही किताबबाट जबाफ दिन
चाहन्छु,' लेखक मगरले भने ।
आफू
बन्दुक बिसाएपछि अहिले कमलसँगै गैँतीबेल्चासमेत चलाउने गरेको उनको भनाइ थियो । 'युद्ध त समाप्त भयो तर
यसका अवशेष बाँकी रहन्छन् । यो अझै रहने छ । समाजशास्त्रीहरूले भनेको कुरा हो यो ।
यो चैँ शिलालेख होस् भनेर लेखेको हुँ,' क्षितिज भन्छन्, 'वैचारिक स्खलनका कुरा आयो । यो पनि राखेको छु ।
म मजदुरी गर्ने मान्छे हुँ । अहिले गैँतीबेल्चा पनि चलाउँछु । कलम पनि चलाउँछु ।'
प्रमुख
अतिथिसमेत रहेका प्राध्यापक केशव सुवेदीले कथाहरू कवितात्मक भएको बताए । 'किताबमा कथाभन्दा धेरै
कविता छन् । कवितात्मक छन् । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन,' सुवेदीले
भने, 'रोल्पा
बुझ्न, रोल्पाको
समाज बुझ्न पनि यो पढ्नुपर्छ ।'
जनयुद्ध
विद्रुपीकरण भएको भन्ने भनाइमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर
कहीँ नपुगिने तर्कसमेत उनले प्रस्तुत ग रे। 'विद्रुपीकरण छै न। धेरै उपलब्धि पनि भएका छन् ।
समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन,'
प्राध्यापक सुवेदीले थपे, 'चेकको मात्र मूल्य हैन ।
हरेक दिन राजनीतिलाई सरापेर कहाँ पुगिन्छ ? सरापेर कही पुगिँदैन । बन्दुकको चर्चा पनि
शक्तिको सञ्चय हो ।'
लेखन
आफैँ पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो । 'मान्छे आफैँ शक्ति
सञ्चय गर्न चाहन्छ । शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ । तपाईँको कलम हिजोको
कलम बनेर सशक्त बनोस्,' उनले भने । युद्धकालमा आफू रोल्पामै भएको भए कि
त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाइ थियो। 'रोल्पामा बसेको भए म कि
चिहानको मुन्तिर हुन्थेँ, कि त म दौरासुरुवाल लगाएर शपथग्रहणको कुनै कार्यक्रममा
हुन्थेँ किनकि त्यही ठाउँमा जहाँ युद्धको सुरु भएको थियो,' सुवेदीले
भने ।
प्रकाशन
सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो
साहित्य बजारमा आएको बताए । 'कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो ।
विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले
कम्युनिस्ट साहित्यबाटै प्रकाशन सुरु गरेका थियौँ,'
आचार्यले भने । रोल्पाको
जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए । कविता लेखनबाट
साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरू(कवितासङ्ग्रह), सुनछहरीको
ऐनामा (कथासङ्ग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । क्षितिज इमानदार भएकै कारण चौथो कृति आएको
तर नेतृत्व तहका मान्छेहरूले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरूलाई बिर्सन
थालेको आचार्यको भनाइ रह्यो । 'इमानदार मान्छे मादल जस्तै भएका छन् । इमानदार योद्धाको
अवस्था यस्तै छ । नेताहरू अहिले नयाँ नयाँ धुनहरू खोजेर मस्ती गर्न थालेका छन् ।
स्रष्टाहरूलाई जोगाउन लागेका छैनन् । स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन्
नेताहरू,' आचार्यले भने । १९२ पृष्ठको कथासङ्ग्रहको मुल्य प्रकाशन
संस्थाले ४५० रुपैयाँ तोकेको छ ।
No comments:
Post a Comment