सुनखौली गुफा
- सुरेन्द्र चापागाईँ
बागलुङ
जिल्लाको बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर तल्ला सरङ्गीको पश्चिमपट्टिको खोँचमा
रहेको यो गुफा प्राकृतिक रुपले आकर्षक रहेको छ । प्राचीन कालदेखि ऐतिहासिक,
धार्मिक, सांस्कृतिक महत्त्व बोकेको
सुनखौली गुफा बागलुङ सदरमुकामदेखि करिब १४ कि.मि. दक्षिणमा कालीगण्डकी नदीदेखि ५००
मिटरको उचइमा रहेको छ भने कालीगण्डकी करिडोर सडकदेखि १०० मिटर तल पैदल यात्रा
गरेपछि पुग्न सकिन्छ ।
यस गुफाको लम्बाइ करिब ३०० मिटर रहेको छ। गुफाभित्र सानो खोला बगिरहेको छ। यस गुफाबाट बगेको पानी गुफा प्रवेशद्वारदेखि ५० मिटर तल झरना खसेको देख्न सकिन्छ । यस गुफाको बारेमा विभिन्न जनश्रुतिहरू रहेका भए पनि पञ्च पाण्डवहरू वनबास, गुप्तबासको समयमा यहीँ बसेको हुन सक्ने अड्कल स्थानीयवासीको रहेको छ । यस गुफा सिँहमरमर जस्तो रुपले सिँगारिएको छ । गुफाभित्र शिवलिङ्ग, शिव पार्वतीका आकृतिहरू, ढिकी, जाँतोलगायतका विभिन्न अवशेषहरू रहेकोले पाण्डवहरू गुप्तबास बसेको किंवदन्तीलाई सहज रुपमै ग्रहण गर्ने बलियो आधार प्राप्त गर्न सकिन्छ । गुफाभित्रका अन्य विभिन्न अवशेषहरू हेर्न स्थानीय मानिसहरू गुफामा जाने गरेका छन् भने गुफालाई अवलोकन गर्न वरिपरिका विद्यालयहरूले आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई भ्रमणमा ल्याउने गरेका छन् ।
गुफा कालो र डरलाग्दो पनि छ । भित्र कतै बसेर हिँड्न मिल्ने छ भने कतै सुतेर हिँड्नुपर्ने पनि छ । गुफाभित्र एकै चोटि १०/१२ जना पनि सजिलै अट्न सकिन्छ । गुफामा विशेष गरी सद्बीज छर्ने दिन सद्बीज छर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । गुफाभित्र पहिला पहिला सुनका पैसा पाइन्थ्यो भन्ने जनश्रुति पनि सुन्न पाइन्छ । सुन पाइने खौलोबाट नै अपभ्रंश हुँदै गुफाको नामाकरण सुनखौली रहन गएको हो भन्ने तथ्य स्व. देवीप्रसाद चापागाईँ र स्व. डिल्लीप्रसाद लामिछानेको भनाइअनुसार स्थानीयवासीहले भन्ने गरेको, सुनाउने गरेको पाइन्छ । गुफाको उचित प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेको स्थानीयवासीले बताउने गरेका छन् ।गुफाभन्दा
३०० मिटर तल एक मालुवा ओडार पनि हेर्न लायक रहेको छ, जहाँ शिव पार्वतीले
क्रिडास्थल बनाएको बुझ्न सकिन्छ भने काली गण्डकी नदीको किनारमै एउटा शिवलिङ्ग
स्वरुपको लिङ्गेढुङ्गा छ, जसलाई लेडढुङ्गा भन्ने गरिएको छ । त्यस लिङ्गेढुङ्गामा
स्व. धनपति पौडेलले गाईको दूध
चढाउने, पाठ पूजा गर्ने गरेको प्रत्यक्ष
देख्ने स्थानीयहरूले बताएका छन् । यस्ता
पुरातात्त्विक महत्त्वका विषयलाई उचित रेखदेखको प्रबन्ध मिलाउन सकेमा र प्रचार
प्रसार गर्न सकेमा प्रशस्त आम्दानी गर्न सकिन्छ भने आन्तरिक पर्यटकको चहल पहल भई
पर्यटन प्रवर्धनमा थप टेवा पुग्छ। यिनको संरक्षण र उचित व्यवस्थापन मिलाउन स्थानीय
तह, स्थानीय तहका राजनीतिककर्मी, आमनागरिक, बुद्धिजीवी, पत्रकार र सरोकारवाला
सबैमा हार्दिक अपिल गर्दछु ।
No comments:
Post a Comment