‘भूमिगत छन् ईश्वरहरू’ कवितासङ्ग्रहको प्रदक्षिणा (समीक्षा) - रमेश प्रभात - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, November 23, 2021

‘भूमिगत छन् ईश्वरहरू’ कवितासङ्ग्रहको प्रदक्षिणा (समीक्षा) - रमेश प्रभात

 कृतिसमीक्षा

‘भूमिगत छन् ईश्वरहरू’ कवितासङ्ग्रहको प्रदक्षिणा

- रमेश प्रभात

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।

कवि अरविन्दप्रतपाप राणा चितवनको शैक्षिक तथा प्राज्ञिक क्षेत्रका धरोहर हुन् । लामो समयदेखि नेपाली भाषा र साहित्यको शिक्षण गर्दै आएका राणा एक कुशल शैक्षिक प्रशासक पनि हुन् । हालै प्रकाशित उनको कविताकृतिमा विविध भावहरू समेटिएका छन् । नेपाली साहित्यका पाठकलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य कविताकृति दिन सक्नु उनको पहिलो कृतिको उपलब्धि हो ।


 १. आरम्भ

तत्कालीन जनकपुर अञ्चल अन्तर्गतको सिन्धुली जिल्लाको झाँगाझोलीमा वि.सं. २०१६ भदौमा जन्मिएका अरविन्दप्रताप राणा नेपाली साहित्यमा प्रथम श्रेणीमा प्रथम भएपश्चात् शिक्षण पेसामा आबद्ध भएका हुन् । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरा, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर लगायत विभिन्न शिक्षण संस्थामा पठनपाठन गराइसकेका उनले करिब दुई दशकदेखि आफ्नै शिक्षण संस्था समेत चलाइरहेका छन् । उनको हालै भूमिगत छन् ईश्वरहरू (कवितासङ्ग्रह, २०७८) प्रकाशित भएको छ । यसका अतिरिक्त केही पत्रपत्रिकामा उनका फुटकर रचनाहरू छरिएर रहेका छन् ।


२. भूमिगत छन् ईश्वरहरू : बाह्य सौन्दर्य

भूमिगत छन् ईश्वरहरू कवितासङ्ग्रह कोसेली प्रकाशन प्रा.लि., काठमाडौँले वि.सं. २०७८ मा प्रकाशित गरेको कवि अरविन्दप्रताप राणाको नवीनतम कविताकृति हो । रङ्गीन आवरणमा सजिएर जम्मा ५४ पृष्ठको डिमाइ साइजमा छापिएको यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३७ थान फुटकर कविताहरू समेटिएका छन् । घटीमा एक खण्डदेखि बढीमा चार खण्डसम्म फैलिएका यी कवितालाई छोटा खालका कविताअन्तर्गत राख्न सकिन्छ । एक पृष्ठदेखि दुई पृष्ठको आयाममा फैलिएका यी कविता सरल, सरस र युगबोधी खालका छन् ।


३. भूमिगत छन् ईश्वरहरू : आन्तरिक सौन्दर्य

कविताको वास्तविक सौन्दर्य भनेको यसको आन्तरिक सौन्दर्य हो । कवि अरविन्दप्रताप राणाको भूमिगत छन् ईश्वरहरू कवितासङ्ग्रहको आन्तरिक सौन्दर्यलाई निम्न उपशीर्षकमा समीक्षा गरिएको छ ः


३.१. भावगत सौन्दर्य

कवि अरविन्दप्रताप राणाको भूमिगत छन् ईश्वरहरू कवितासङ्ग्रहमा समेटिएका कविताको भावगत सौन्दर्यलाई निम्न साक्ष्यका आधारमा पुष्टि गर्न सकिन्छ ः

कवि राणा बाह्य संसारभन्दा पनि मनको संसारमा रमाउन चाहन्छन् । मनको संसार सुन्दर भयो भने बाह्य संसार पनि आफसे आफ सुन्दर हुन्छ भन्ने कविको अभिमत पाइन्छ । उनी अचेल मान्छेको मन खाली खाली भएकोमा कवितामार्फत् यसरी चिन्ता व्यक्त गर्छन् ः

तर आज !

घरघरमा

गाउँगाउँमा

बस्ती बस्तीमा

मानिसहरू भरिभराउ छन्

ठूलै पर्व आउन लागेछ झैँ

देश विदेशबाट फर्किरहेका छन् !

तर सबैका मनहरू खाली छन् ! (खाली मन, पृ. ३३)


कवि जागिरप्रति उदासीन रहेको कुरा कवितामा यसरी आएको छ :

थोरैले मात्र खाएका होलान् जागिर

धेरैलाई यसैले खाएको छ,

बरु हाड चपाउन सजिलो होला

तर सजिलो छैन जागिर खान (जागिर, पृ. ५०)


उनका कवितामा आफू राम्रो बन्न खोज्दा कसैले हाम्रो नभन्ने वर्तमान समाजप्रति व्यङ्ग्य र स्वमूल्याङ्कन पनि यसरी मुखरित भएको छ :

सबैको कस्तो राम्रो ! भएँ

कसैको हाम्रो बन्न सकिनँ,

दुनियाँ पागल हो

या म नै मूर्ख हूँ,

आजसम्म जान्न सकिनँ । (कस्तो राम्रो !, पृ. १९)


वर्तमान समयमा सूचना र प्रविधिको विकासका कारण घरभित्र पनि मान्छे एक्लो हुँदै जान थालेको सामाजिक यथार्थको चित्रण कविले कवितामा यसरी गरेका छन् :

पारिवारिक सम्बन्ध राम्रै छ

तर बोलचाल कमै छ,

खास काम त केही छैन

तर फुर्सद कमै छ ।

कसरी जुटाउँछन् कुन्नी ?

सबैका मोबाइल मित्र सँगै छ । (मोबाइल मित्र, पृ. ३६)


कोविड १९ कारण देशमा व्याप्तलकडाउनका जीवन सन्त्रासमय बनेको र त्यसमा पनि रोग लागेपछि घरभित्र पनि कुकुर बिरालाजस्ता जनावर आउने तर परिवारका कोही पनि सम्पर्कमा आउन नपाउने गरेको तत्कालीन पीडालाई कविले यसरी काव्यात्मक तवरले चित्रण गरेका छन् :

मेरा साथीहरूलाई

कुकुर बिरालाहरूलाई

यसैमा भुल्न थालेको छु,

शेष जिन्दगी काटेको छु । (झ्यालढोका र कुकुरबिराला, पृ. १०)


उनी जीवनमा असफता पनि हात लाग्ने र त्यतिबेला समाजमा कसरी जोगिएर हिँड्न सकिन्छ भनेर कवितामार्फत् यसरी सचेतना भर्छन् :

जोगिएर हिँड

ओरालो असजिलो हुन्छ,

मुटु कामेका बेला

सानो ढिस्काले पनि लडाउला । (ओरालो लागेपछि, पृ. ४७)


उनका कवितामा देशप्रेमको भावना पनि मुखरित भएको पाइन्छ । हेरौँ एउटा साक्ष्य :

सबैले एउटै सोचौँ

चन्द्रसूर्य अङ्कित झण्डा

जहाँको तहीँ हुन्छ,

हामी सबै नेपाली

हामी एक भए पुग्छ । (हामी एक भए पुग्छ, पृ. ८)


जीवनको उत्तराद्र्धलाई कवितामा यसरी दार्शनिक रूपमा अभिव्यक्त गर्छन् :

  संसार रहेछ विचित्र !

बाँचुञ्जेल रहेछ तेरो–मेरो

मृत्युपछि खोइ ?

न तेरो न मेरो । (अन्तिम संवाद चितासँग, पृ. ६)


कविले आमालाई सभ्यताकी जननीको संज्ञा दिएका छन् । उनी आमाको माया र महिमालाई काव्यात्मक रूपमा यसरी गाउँछन् :

सबै ज्ञानको

पहिलो स्कूल तिमी हौ,

हरेकको संस्कारमा 

तिमी नै तिमी छौ,

सभ्यताकी जननी तिमी हौ । (आमालाई सम्झँदा, पृ. १३)


कविले अरुले सधैँ हेप्ने गरेको व्यक्तिलाई पनि निर्वाचनका बेलामा आफन्तजस्तै व्यवहार गर्ने गरेको कुरालाई यसरी व्यङ्ग्य गरेका छन् :

सबै आफन्त भन्छन् मलाई !

कतैबाट आकाशवाणी हुन्छ–

भत्केके पाटीमा बस्ने होइन अब

मित्र,चुनाब आउन लागेको छ ! (फिरङ्गीका आफन्तहरू, पृ. २)

 

प्रेम के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा विभिन्न धारणा पाइन्छन् । उनी प्रेम शास्वत हुन्छ भन्ने कुरामा विश्वस्त छन् । जसलाई उनी कवितामा यसरी चित्रण गर्छन् :

न चोखो न त जुठो हुन्छ,

त्यो असीम र अनन्त हुन्छ,

निर्दोष अनि दिव्य हुन्छ !

आफसे आफ हुन्छ । (आफसे आफ हुन्छ !, पृ. ७)

कवि प्रेम मात्र होइन प्रणयका पक्षमा पनि काव्यात्मक अभिव्यक्ति दिन्छन् । उनी आफ्नी प्रेयसीको प्रतीक्षामा बसेको कुरालाई कवितामा यसरी चित्रण गर्छन् :

प्रिय तिम्रो सम्झनामा,

हाम्रो बगैँचामा

तिमीलाई मनपर्ने सेतो गुलाफ

र मलाई मनपर्ने रातो गुलाफ

सँगसँगै रोपेको छु,

शायद आउँदो दशैँसम्ममा फक्रन्छ होला !

प्रिय आउँदो दशैँमा !! ( आउँदो दशैँमा, पृ. ३२)


३.२. कलागत सौन्दर्य

कवितामा कलापक्षको आवश्यकता हुन्छ । कलाविहीन कविता कविता बन्न सक्तैन । कविताको कलाभित्र कविताका बुनोट पक्ष पर्दछ । कविले आम मान्छेले भन्दा फरक तरिकाले अभिव्यक्ति दिन सके मात्र कविता कविताजस्तो बन्छ । यसमा कवि राणा सचेत छन् । हेरौँ उनको कवितासङ्ग्रहको शीर्षक कवितबाट एउटा साक्ष्य :

भूमिगत छन् ईश्वरहरू

त्यसैले मन्दिर मात्र रहे !

प्राण गयो,

मूर्ति मात्र रहे ! ( भूमिगत छन् ईश्वरहरू, पृ. १६)


३.३. लयगत सौन्दर्य

कविताको पृथक् पहिचान भनेकै यसको लय हो । कवि अरविन्दप्रताप राणा गद्यलयको प्रयोग गरेर कविता रचना गरेका छन् । गद्यलयमा रचति उनका पनि अनुप्रासको प्रयोग गरेर उनले कवितालाई  निखार भरेका छन् । हेरौँ एउटा साक्ष्य :

यो आफ्नै गाउँ हो,

ओरालो लागेपछि पुग्ने ठाउँ हो । (ओरालो लागेपछि, पृ. ४७)


३.४. सन्देश

कवि राणाका कवितामा विविध खालका भाव समेटिएका छन् । ती भावमा एक न एक सन्देश लुकेको पाइन्छ । लामो समयदेखि शिक्षण पेसामा आबद्ध भएका कारण यिनी आफ्ना हरेक कवितामा केही न केही सन्देश दिन लालायित देखिन्छन् । यिनका कविताको सन्देशका रूपमा जागिर खाँदा जागीरले आफैँलाई खान्छ भन्ने सन्देश कतै पाइन्छ भने कतै मनको चित्रण त कतै सामाजिक यथार्थको चित्रण तथा कोविड १९ र लकडाउनको चित्रण पाइन्छ । उनी सामाजिक सचेतना, देशप्रेम, आमाको महत्व, निर्वाचनप्रति व्यङ्ग्यका साथै प्रेम र प्रणयका भावको चित्रणमा पनि उत्तिकै रुचि राख्छन् । यसर्थ सन्देशमूलकता कजि राणाको कविताको प्राप्ति हो ।


४. उपस्थापन

शिक्षाका क्षेत्रमा रमाएर बसेका कवि अरविन्दप्रताप राणा समाजमा विद्यमान विविध विषयवस्तुलाई भाव बनाएर कविता लेख्न सिपालु कवि हुन् भन्ने कुरा उनको भूमिगत छन् ईश्वरहरू कवितासङ्ग्रहका माध्यमबाट पुष्टि भएको छ । उनी व्यक्ति, समाज, देश, सन्देश, शिक्षादेखि लिएर समाजमा फैलिएको कोविड रोग र प्रविधि परिवारलाई खुम्च्याएको कुरालाई पनि कवितात्मक बान्कीमा प्रस्तुत गर्छन् । कलापक्षमा सफल भएर पनि मुद्राराक्षसबाट उनी जोगिन सकेका छैनन् । आफू स्वयं नेपाली भाषाको शिक्षक भएर पनि उनको कृतिमा यस्ता त्रुटि हरेक पृष्ठमा पाइनु खाना खाँदा गाँसैपिच्छे ढुङ्गा लागेजस्तो हुन आउँछ । आगामी संस्करणमा यसको सुधारको अपेक्षा गर्दै उनको यो कृतिको सफलता र छिट्टै अर्को कृति आओस् भन्ने शुभेच्छासहित कलम रोक्छु ।

[email protected]

No comments:

Post a Comment