लघुकथा
ससुराली
- भरतमणि भट्टराई
सन्देशको विवाह एक्लो छोरो
भएकाले बाआमाको रहरका कारण १५ वर्षकै उमेरमा भयो । पल्लो गाउँका अर्जुनकी छोरी
चमेलीसँग उसका बाबा मसिनेले छोराको बिहे गराइदिए । बुहारी पाएपछि के के नै सुख
पाउने र छिट्टै नातिनातिना देख्न पाइने आशमा सन्देशकी आमा आशावादी थिइन् । मसिने पनि
घरको सरसफाइ र कामकाजमा सहयोग पुग्ने ठानेर बुहारीको आगमनलाई स्वागत गर्न हतारिएका
थिए । चमेली बुहारीका रूपमा भित्रिएपछि केही समय त सुमेलो नै आउला झैं भएको थियो
तर एक वर्ष नबित्दै छोरालाई नै लिएर माइतमा गई । सन्देश र चमेली उतै काम गरेर बस्न
थाले । एक्लो छोरो भए पनि सन्देशले घरतिरको वास्ता नै गर्न छाड्यो । दिनहुँ सासूससुराको
स्याहार गरी रमाउन थाल्यो ।
मसिनेले छोराबुहारीलाई लिन
भनेर छोराको ससुराली गए तर सन्देश विदेश जाने भनेर फर्कन मानेन । उल्टै विदेश जाने
खर्च माग्यो सन्देशले । मसिनेले विदेश नजान सल्लाह दिँदै बरु आफ्नै भूमिमा केही
गरेर बस्नका लागि चाहिने पैसाको व्यवस्था
मिलाइदिने वचन दिए । कसै गरी नमानेपछि
छोरालाई जग्गा धितो राखेर २ लाख रुपैयाँ दिई विदेश पठाए र सन्देश वर्किङ भिसामा
विदेश गयो ।
सन्देशले १२ वर्ष काम गरेर
कमाएको पैसा सबै चमेलीका नाममा पठायो । चमेलीले सहरमा घडेरी किनेर घरसमेत बनाई ।
त्यसपछि सन्देश नेपाल फर्क्यो र घर नआई ससुरालीतिर नै गयो तर चमेली त्यहाँ थिइन ।
उसले ससुरासँग चमेलीका बारेमा सोधखोज गर्यो । अर्जुनले चमेली बजारमा घर बनाई
बसेको धेरै भयो उहीँ जानु भनिदिए ।
सन्देश चमेली बसेको ठाउँ
खोज्दै सहर पस्यो । उसले चमेली बसेको घर सोधेर पहिल्यायो । घरमा जाँदा चमेली अर्कै
केटो लिएर बसिरहेकी देख्यो उसले । त्यो देखेर सन्देशले चमेलीसँग सोध्यो‚ ‘यो को हो
चमेली ?’
चमेलीले झोकिएर भनी‚‘ऊ मेरो श्रीमान । देखेनौ सँगै बसेको ? अनि तिमी को हौ ? अरू केही
काम थियो कि हामीसँग ?’
सन्देश केही नबोली आश्चर्यचकित
भई टोलाइरह्यो । फेरि चमेलीले भनी‚‘काम नभए आफ्नो
बाटो लागिहाल । किन टोलाइरहेको ? अब हामी बाहिर जाने बेलामा साइत बिग्रन्छ । गइहाल
छिटो ?’
सन्देश गहभरि आँसु लिएर
आफ्नै घर रित्तो हात लिएर फर्क्यो । घरमा आउँदा बा परलोक भइसकेका र आमाको स्थिति
रोगले गर्दा ज्यादै नाजुक भएको पायो । जग्गा जमिन सबै उसले विदेश जाँदा लिएको ऋण
तिर्न नसकेर साहुले खाएछ । उसले बिलौना गरेर आमासँग माफी माग्यो तर मृत्युको मुखमा
जान तयार भएकी आमालाई उसको माफले के गर्न सक्थ्यो र ! आमाको पनि देहान्त भएपछि
आफूले गरेको विगतको गल्तीलाई सम्झेर आफैँलाई धिक्कार्दै एक्लो दु:खदायी जीवन रोएर
बितायो ।
पोखरा-१०,
मिलनटोल, कास्की
No comments:
Post a Comment