मेरो देश
– भरतमणि भट्टराईसानेको लुगा फाटेको, टुल्कीको जामा टालेको
भुण्टीको दाउराको भारीले चोलीको आङ देखिएको
चित्रेको फाटेको कछाडबाट लमौटी देखिएको
भान्सामा बसेकी वसन्ती धुजाधुजा भएको सारीको फेर बेरेर
भट्ट र गुन्द्रुकका साथ खुँडीरहेकी
अनि
दस जना परिवारमा एक माना पिठोको तर न,
भाँडोमा छैन तर वसन्ती भन्छिन् थोरै थप न
केटाकेटीलाई निर्वाह लगाएर बाँडेर खान्छन्
पेट बाहिर आउने कहिल्यै हैन
पानी खाएर सबैले सुन्ने गरी डकार्छन् ।
बिचरी ! वसन्ती अक्सर भाँडो चाटेर अघाउँछिन् ।
कस्तो कारुणिक पीडा
दिनभरि भैंसीको गोठालो, नित्य घाँस काट्नुपर्छ,
ढुङ्ग्राभरि दूध दुहेर ल्यायो, दही मथ्नुपर्छ,
ध्यु बेच्नका लागि मात्र, महीको पानीले खोले निल्नुपर्छ ।
म दुध खन्याइसकेपछिको कुराउनीको लोभमा भान्सा कुरेको देखेर होला
भाउजू भन्छिन्– अरुलाई हैन बाबुलाई कुराउनी दिनुपर्छ ।
त्यसैले त म भाउजूको साख्खै छु,
खाने बेलामा सधैँ भाउजूकै साथमा हुन्छु ।
अघाइञ्जेल खान नपाए पनि,
पाउने आशमा नजिकै बसेको हुन्छु ।
कथामा सुनेको चौरासी व्यञ्जनका कुरा
हजुरबा कथा सुनाउँदै फलाक्नुहुन्थ्यो मोजमस्तीका कुरा,
एकोहारो सुनिरहन्थेँ, मुखमा पानी रसाउने हुन्थ्यो
जब सकिन्थ्यो कथा
आफूलाई जस्ताको तस्तै हुन्थ्यो ।
पोहोर बहिनी थलिएर टाइफाइडले गई उपचार नपाएर,
ठूलाबा निमुनियाले खसे औषधी नपाएर
अचम्मको दृश्य देख्न पाएँ मैले हिजो
दिदीसँग पछ्याएर उनकी मितिनीकहाँ जाँदा
हजुरबाको चौरासी व्यञ्जन देख्दा मनमा बिझ्यो
कुन्नी कताबाट हो ? अर्डरका आधारमा खाना आयो,
मासुका परिकार कतिकति, कैयौं परिकार पाकेका छन् ।
आफैँ समान भन्ट्याङ्भुन्टुङ खाँदाखाँदै थाकेका छन् ।
भाँडापिच्छे फ्याँकिएका छन् आफ्नो घरलाई पुग्ने जति
लवाइखुवाइ विचित्रको
रमाएका जहान जति
घर कस्तो न कस्तो, गगनचुम्बी महलै रहेछ
हामी किन पीडित भयौं ? कि तिनको नागरिकता विदेशी रहेछ ?
बोली कुन्नि कहाँबाट ल्याइएको हो बुझ्नलाई भो अति कठिन
बोल्न नेपाली नै हो कि ? झैं लाग्छ तर दिदीसमेत वाक्क भइन् ।
कुनै कुराको पनि कमी छैन
सबै राम्रै विचित्रता आखिर केले गर्दा ?
कसले देखेको छ गरिबको पीडा ?
कस्तो भयो होला अभावभित्र मडारिनुपर्दा ?
प्रत्येकको गाडी रहेछ, बाहिर निस्कनुपर्दा
कस्तो मानवीय चोला ?
त्यस्तो भएन सबैलाइ केले गर्दा ?
एउटै आमाका सन्तान, केले यस्तो विभेद भो ?
चोर्ने मान्छेकै ठूलो स्वर, चोर्न चाहिँ नछोड्ने भो ।
धुताहा र कमिशनखोरको अधिक बिगबिगी बढेर गो ।
खाने, खुवाउने र रुवाउनेको ताँती नै लाग्यो
न्याय खोज्नका लागि साँच्चै कहाँ जाने हो ?
समानता, स्वतन्त्रता मानवाधिकार सुन्नका लागि मात्र भए,
गाँस, बास र कपासको सुनिश्चितता कागजमा मात्र सीमित भए ।
स्वावलम्बन,सर्वाधिकारको सुनिश्चितता सुन्नका लागि मात्र सीमित बने
समाजवाद, सार्वभौम र स्वाधीनता देखाउने दाँत मात्र बने
आफू कहाँ छु र कर्तव्य के हो ? भन्ने कुरा समेत बिर्सेर आज मानिस,
विखण्डन र पाखण्डीको पुच्छर समाई बैतर्नी तर्ने आँट गर्ने भए ।
हाय ! मेरो देश, किन आज रोइरहेछ निरन्तर ?
देशलाई सुसज्जित पार्न सबै जुटौं
देशको मुहार फेर्नका निम्ति
अनि,
मानवताको रक्षा र अधिकारको संरक्षणका निम्ति
अखण्डता र देशको अस्तित्व एवम् स्वाभिमानका निम्ति
समानता र समताका निम्ति,
सभ्यता र समृद्धिका निम्ति
आ–आफ्नो ठाउँबाट उठी
लडिरहौं निरन्तर ।
पोखरा-१०, मिलनटोल, कास्की
No comments:
Post a Comment