कविता
म बाँचेको छु
हरेक पल पल म आफैं भित्रभित्रै मरे पनि
दुनियाँको नजरमा म जीवित नै छु भन्ने
देखाउनको लागि
भए पनि
आफ्नो मन मस्तिष्कमा अनगिन्ती कुराहरू सँगाल्दै
म बाँचेको छु
जिन्दगीमा हजारौं समस्या, बाधा,
व्यवधान आउँदा
आफ्नालाई खुसी अनि आनन्दको जिन्दगी दिनका लागि
आफ्ना हजारौं सपनाहरूको घाँटी निमोठ्दै
रातदिन सङ्घर्ष गर्दै
रोएको मनलाई लुकाएर
दुनियाँलाई हँसाएर
हरेक सम्झौताहरू पार गर्दै
म बाँचेको छु
कागजका पानाहरूमा लेखिएका शब्दहरू इरेजरले मेटेको झैं
अतीतका पानाहरू हराउँदै बिलिन हुँदै गए
पनि
आफ्ना सपनाहरूलाई घाउमा मलम लगाए झैं गरी
लगाएर घिसार्दै छु आफ्ना पैतलाका बेगहरू
बिर्सँदै छु म को हुँ भनेर
तर पनि
दुनियाँलाई बताउन भए पनि एक मूर्ती झैं गरी
म बाँचेको छु
कसैलाई आफ्नो ठानेको थेँ
जिन्दगी उनैसँग बिताउने सोचेको थेँ
तर
अफसोस
जसलाई भाग्यले जन्मेदेखि नै ठगेको थ्यो
उसलाई आफ्नो भाग्य लेख्ने अधिकार कहाँ मिल्दो रैछ र ?
साँचो माया लाउँदा लाउँदै पनि
जिम्मेवारी र कर्तव्य पूरा गर्नैका लागि भए
पनि
झुटो बोलेरै भए पनि
आज जाँदै छु कसैको मायालाई लत्याएर
त्यसैले त म सबैलाई छोडेर
मनभित्र सबैलाई न्यानो मायाका साथ सँगाल्दै
कोर्दै छु म दुई शब्दहरू
म मरेको छैन बाँचेको नै छु
भन्ने प्रमाण देखाउनका लागि भए पनि
दुई शब्द कोर्दै छु
म बाँचेको छु
आफ्नो भविष्यको लागि देखेको अनगिन्ती सपनाहरू त्याग्दै छु
मनभरि पीडा बोकी सबैलाई खुसी राख्ने चाहनामा
निभ्न लागेको दीपलाई झिनो आशा लिएर
लतार्दै छु जिन्दगीलाई
हो म सबैलाई जीवित नै छु भन्ने देखाउनकै लागि भए पनि
यो मूर्त आत्मालाई जसोतसो गरी अगाडि बढाउँदै छु
म बाँचेको छु
न त मलाई कसैको आश छ
न त कसैको डर नै
त्यसैले त आफ्नो लुटाएर सबैलाई खुसी दिँदा दिँदै
आफू रित्तो भाँडो झैं फ्याँकिएको छु आज
आफ्ना भन्ने सबै हुँदाहुँदै पनि
बेसहारा झैं गरी
म बाँचेको छु
सबै धन,
रूप मात्र हेर्ने रैछन्
बाहिरी देखावटी हाँसो मात्र हेर्ने
रैछन्
मन रोएको त कसैले नदेख्ने रैछ दुनियाँमा
त्यसैले त आफ्नो तरिकाले स्वतन्त्र भै
सांसारिक झुटो माया मोहबाट भाग्दै
आज बौलाहा झैं भएर
मनमा अनगिन्ती पिडा,
यातना
अनि
मनमा हजारौं सवालहरू
आफ्नै मन मस्तिष्कमा गुम्साएर
म बाँचेको छु
.
भरतपुर-२, चितवन
No comments:
Post a Comment