मसँगै रहने म
- रोहित कल्पु अछामी
तिम्ले आफ्नो मनको बसाइँ अन्तै
सारेपछि हो,
मलाई
मभित्र रहेको आफ्नै गाउँ मन पर्न छाडेको ।
यो गाउँको पुरानो गल्ली जहाँ मेरो घर थियो।
तिम्लाई तिम्रो शहरको गल्ली
एउटा थोत्रो साइकलमा राखी ,
तिम्रै सिउँदोको टर्च बालेर,
तिम्रो मनको शहर पुगूँ, सोच्थेँ ।
बिचमै,
सिसा जस्तै चर्किएको तिम्ले,
तिम्रो मनको बसाइँ अन्तै सारेपछि हो ।
मलाई,
मभित्र रहेको आफ्नै गाउँ मन पर्न छाडेको ।
अझैसम्म नमेटिएका पाइलाहरू,
थकाइ मेट्न बसेको चौतारो,
हतारमा बुनेको सपनाहरूको धितो राखेर
तिम्ले आफ्नो मनको बसाइँ अन्तै
सारेपछि हो,
मलाई
मभित्र रहेको आफ्नै गाउँ मन पर्न छाडेको ।
यादहरूले दुखेका ती छानाहरू,
एकान्तले समायको ती पिल्लरहरू,
पल-पल मरेको मेरो गाउँ,
एक्लै सम्हालिन्छु भन्ने आशा बोकेर,
तिम्ले आफ्नो मनको बसाइँ अन्तै
सारेपछि हो,
मलाई
मभित्र रहेको आफ्नै गाउँ मन पर्न छाडेको ।
बसाइँ सार्यौ आफ्नो
रोयो तिम्ले छाडेको गाउँ
जुन
सधैं तिम्रो थियो।
एकोहोरो काँपिरहे, एकाएक गर्दै,
जब
आफ्नै गाउँ पराई बनी शहर हुन पुग्यो।
न रोयो, न करायो
ऊ त बस्
हालतको अघि मौन भयो ।
सानो गाउँ ,
सानो गाउँ भित्र रहेको म
आज
यता उता भड्किरहेछु सुस्तरी - सुस्तरी,
कसरी पो सहन सकुँला,
यो पीडा ?
यही कुराहरूमा अल्झिँदै,
मलाई मभित्र रहेको म मन पर्न छाड्यो ।।
चितवन, पर्सा ।
No comments:
Post a Comment