लघुकथा
आगामी दिनमा
–ध्रुव मधिकर्मी

झमक्क साँझ प-यो ।
साथीसित कुरा गर्दागर्दै समय सरक्क बितेको पत्तै भएन रामीलाई । कुरैकुरामा यसो घडी हेरेपछि पो ऊ झसङ्ग भई – लौ मा¥यो ! अब कसरी घर फर्कने ! उसले झ्यालबाहिर हेरी । घाम डुबिसक्यो । उज्यालो मात्र अलिअलि बाँकी छ । लौ न, अब म कसरी घर जाने ! ढिला भइसक्यो, उसले चिन्ता प्रकट गरी ।
भर्खर साढे छ भयो, केको ढिला हुनु, साथीले घडी हेर्दै उसलाई आश्वस्त पार्न खोजी ।
साढे छ भनेर के गर्ने ! अँध्यारो हुन लागिसक्यो, अब म कोसँग घर फर्कने होला । आज मैले भाइलाई पनि ल्याइनँ नत्र उसैसँग जान हुन्थ्यो ।
चार पाइला जानलाई पनि केको साथी चाहियो तँलाई ?
चार पाइला भनेर के गर्ने ? बाटोमा डर लाग्दैन कि क्या हो !
के को डर मान्नु कसले के गर्छ ? साथी आश्वस्त पार्न खोज्दै थिई तर ऊ आश्वस्त भइन ।
त्यसपछि उसले घरमा फोन गरी । उसकी आमाले फोन उठाई ।
मम्मी, म रामी , साथीकहाँ छु । उसले अलि हडबडाएको स्वरमा भनी ।
किन, के भयो ?
हेर्नोस् न ममी, छिटो घर आउँछु भन्दाभन्दै ढिलो भएछ । भाइलाई पठाउनोस् न म उसैसँग आउँछु ।
के तिमी एक्ली आउन सक्तिनौ ? रचनाको घरबाट यहाँसम्म आउन पनि कति बेर लाग्छ र ?
कसरी आउनु एक्लै, डर लाग्छ नाइँ ! भाइलाई पठाउनोस् न मम्मी, रामीले आमालाई मनाउन खोजी ।
रामी, के भनेकी तिमीले । तिम्रो सुरक्षाको लागि भाइलाई पठाउने ? भाइ त तिमीभन्दा सानो छ । उसले तिम्रो सुरक्षा कसरी गर्न सक्ला ? तिमीले त आफ्नो सुरक्षा आफै पो गर्नुपर्छ । तिमीलाई पढाएको, लेखाएको के यस्तै डरछेरुवा हुनलाई हो ? यस्तो सम्साँझमा हिँड्न नै तिमीलाई डर लाग्छ भने आगामी दिनमा जीवनका अँध्यारा रातहरु तिमी कसरी छिचोल्छौ ? यति भनेर उसकी आमाले फोन राखिदिई ।
No comments:
Post a Comment