ओझेल परेका रतनगञ्जका कथा (समीक्षा) —खगेन्द्र गिरि ‘कोपिला’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

ओझेल परेका रतनगञ्जका कथा (समीक्षा) —खगेन्द्र गिरि ‘कोपिला’

 समीक्षा

     ओझेल परेका रतनगञ्जका कथा

—खगेन्द्र गिरि ‘कोपिला’

उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा सीमित भइरह्यो पूर्वीय वाङ्मयमा । प्रकारान्तरमा पूर्वीय वाङ्मयमा आख्यान विधाको जबरजस्त प्रवेश भएर अरु विधा करिबकरिब ओझेल परेजस्तै भएका छन् । उहिलेउहिले पूर्वीय वाङ्मयमा कथा र उपन्यास पनि पद्य र छन्दमै लेखिन्थे । एक लाख छन्दमय श्लोकको विशाल ग्रन्थ ‘महाभारत’ लाई महाकाव्य भनिए पनि आफैमा त्यो यौटा उपन्यास हो । अब त कथा र उपन्यासको त कुरै छोडौं कविता पनि पद्यमा नलेखेर गद्यमा लेख्ने चलन बढ्दो छ । 

पूर्वीय वाङ्मयमा पाश्चात्य अवधारणा र शैलीको प्रभाव बढ्दै गएपछि साहित्यको रुप र परिचय फराकिलो भएर अचेल आख्यानको महत्व र प्रभाव बढेको छ । अहिले नेपाली साहित्यमा पनि आख्यानको चर्चा र बोलवाला ज्यादा छ । अब त ‘साहित्य भन्नु नै आख्यान हो’ भन्ने वाक्य यथार्थजस्तै बन्न पुगेको छ करिबकरिब । 

कवितालाई लोकप्रिय, अथवा भनौं पाठकप्रिय बनाउनका लागि सङ्केत, बिम्ब, लक्षणा, शैली र प्रयोगको कलात्मकताले निर्णायक भूमिका खेलेको हुन्छ भने आख्यानमा पात्र, परिवेश र विषयको विस्तारले ज्यादा काम गरेको हुन्छ त्यसैले कवितालाई बौद्धिक पाठकको खुराक र आख्यानलाई आम मानिसको खुराक हो भन्छन् साहित्यका व्याख्याताहरु । 

नेपाली साहित्यमा समीक्षाभन्दा चर्चा हावी छ । गुणवत्ताको आधारमा भन्दा  बजारु टिप्पणीको भरमा साहित्यिक कृतिको मुल्याङ्कन र आँकलन गरिन्छ यहाँ । नेपाली आख्यान विधा पनि यो प्रवृत्तिबाट अछुतो छैन । आख्यान विधाका केही कृतिलाई स्थापित, प्रचारित र लोकप्रिय बनाउनमा विश्वविद्यालय र मिडियाको मनोविज्ञानले पनि काम गरेका छन् यद्यपि अझै पनि बौद्धिक, सन्देशमूलक र यथार्थपरक आख्यान कृतिपट्टि नजर पु¥याउन विश्वविद्यालयका समालोचक र मिडियाका कलमकारहरु चुकेका छन् । राजधानी र केही हदसम्म ठूला सहरका क्याम्पस र मिडिया हाउसले जुन कृति र जुन लेखकको चर्चा गरिदिया,े उसैको मात्र एकोहोरो बयान र बखान भइरहने प्रथा बसेको छ । 

नेपाली साहित्यको ‘आख्यान बजार’ यतिखेर राजधानीका ठूला पब्लिेकशन हाउस वा साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी निकायले प्रकाशित गरिदिएर ठूलाठूला मिडिया हाउसले विज्ञापित गरिदिएका किताबको चर्चाले भरिएको छ । अन्तरक्रिया, समीक्षा, पुरस्कार र पाठ्यपुस्तकमा समावेश हुने अवसर पनि यिनै विज्ञापित कृतिले नै पाउँछन् । देशका हरेक क्षेत्रमा व्याप्त ‘राजनैतिक सिण्डिकेट’ जस्तै ‘साहित्यिक सिण्डिकेट’ बनाउने मनोविज्ञानले पनि धेरथोर काम गरेकै छ तर विश्वविद्यालय, पब्लिकेशन हाउस र मिडियाको चमकधमक र चर्चा—होहल्लाबाट बञ्चित भएका—बनाइएका—हुन पुगेका उम्दा आख्यान कृति भने ‘पाठक संसार’ मा भित्रभित्रै आफ्नै किमिसले चर्चित भइरहेका हुन्छन् र ‘भुसको आगो’ झैं सुस्तसुस्त पाठकको मनमष्तिस्कमा सल्किरहेका, सल्बलाइरहेका हुन्छन् ।

नेपाली आख्यान साहित्यको चमकधमकबाट ओझेल परेको एउटा यस्तै उम्दा कृति हो ‘रतनगञ्जका कथा’ । विषयका दृष्टिकोणले सरल, सन्देशका दृष्टिकोणले सशक्त र लेखनशैलीका दृष्टिकोणले विशिष्ट हुँदाहुँदै पनि यो कथासङ्ग्रहले पाउनुपर्ने जति चर्चा पाउन सकेको छैन । 

जातिय, धार्मिक, भाषिक र सामुदायिक रुपमा नेपालको निकै नै संवेदनशील जिल्ला मानिन्छ कपिलवस्तुलाई । त्यही जिल्लाको संवेदनालाई उनेर लेखिएको कथासङ्ग्रह हो ‘रतनगञ्जका कथा’ । कपिलवस्तुको बिसनपुर गाविस वडा नं. ५ का बासिन्दा वासु जमरकट्टेलद्वारा लिखित यस सङ्ग्रहमा पन्ध्र ओटा कथा समावेश छन् । 

२०२४ सालमा लमजुङको सूर्यपालमा जन्मेका वासु जमरकट्टेलको कर्मभूमि कपिलवस्तु जिल्ला हो । उनका रहर, आकांक्षा, सपना, आशा र उत्कण्ठाहरु यही जिल्लाको धुलो माटोमा पोखिएका छन् र यही माटोमै पुष्पित, पल्लवित पनि भइरहेका छन् । उच्च शिक्षा हासिल गरेका र सरकारी सेवामा कार्यरत रहेका वासु जमरकट्टेलसित नयाँ जमानाको सोंच, चाहना, रुचि र परिकल्पना त छँदै छ, यसका अतिरिक्त उनीसित कपिलवस्तुजस्तो संवेदनशील जिल्लाको बासिन्दा हुनुको संवेदनापूर्ण अनुभवको भण्डार पनि छ । दसवर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलनमात्र नभएर कपिलवस्तुको साम्प्रदायिक दंगा पनि झेलेका वासु जमरकट्टेलले तराईको सीमान्त जनजीवनलाई पनि नजिकबाट नियालेका छन् । उनले यिनै कुरालाई आफ्ना कथामा अनुवाद गरेका छन् ।


नेपाली साहित्यमा तराईदेखि पहाडसम्मका स्थानिक विषयलाई समेटेर कथा वा उपन्यास लेख्यो भने त्यसलाई ‘आञ्चलिकता’ भन्ने चलन छ । यस ‘आञ्चलिकता’भित्र मधेशको आकर्षण जबरजस्त छ । मधेशको चित्र र सजीवतालाई नेपाली साहित्यमा उजागर गर्ने स्रष्टाहरुमा भवानी भिक्षु, डा.वानीरा गिरी, मनु ब्राजाकी, सनत रेग्मी, इस्माली, डा.राजेन्द्र विमल, नयनराज पाण्डे आदिको नाम अग्रपङ्तिमा आउँछ । वासु जमरकट्टेल पनि यस पङ्तिमा उभ्याउन मिल्ने लेखक हुन् । नेपाली साहित्यमा मधेशको जनजीवन, मधेशको मनोविज्ञान र मधेशका यथार्थतालाई समेटेर धेरै थोरै कृति लेखिएका छन् तर जे–जति लेखिएका छन्, तिनले राम्रो चर्चा मात्र होइन पाठक र समालोचकको राम्रो ‘रेस्पोन्स’ पनि पाएका छन् । ‘रतनगञ्जका कथा’ भने यो अवसरबाट बञ्चित हुन पुगेको देखिन्छ । 

रतनगञ्ज तराईको सीमान्तकृत कुनै गाउँको काल्पनिक नाम हो नयनराज पाण्डेको उपन्यास ‘लू’ को ‘पत्थरपूरवा’ जस्तै । यस सङ्ग्रहका सबैजसो कथाहरु रतनगञ्ज नामक यही सीमान्त गाउँकै वरिपरि घुमेका छन् भने पात्र तथा घटनाक्रमहरु पनि एउटै सामाजिक परिवेशलाई बोकेर हिँडेका छन् त्यसैले यो कथासङ्ग्रह पढ्दा कतैकतै धारावाहिकको झल्को दिन्छ भने कतैकतै एउटा औपन्यासिक कृतिका खण्डहरु पढेको झल्को पनि दिन्छ ।

सङ्ग्रहमा समावेश कथाहरुलाई एकएक गरेर नियाल्दा कथारचनाका भिन्नभिन्न बान्की र कथाधरातलका पृथकपृथक रुपसित साक्षात्कार हुन पुग्छ । पहिलो कथा ‘खुला आकासको खोजी’ साहिरा भन्ने मुस्लिम बालिकाको चेतना, साहस र सङ्घर्षको कथा हो । ‘रेक्सावाला’ नेपाल—भारत सीमा क्षेत्रको कालोबजारी, ठगी र तस्करीलाई हेरिरहेको एउटा असहाय र सच्चा हृदय रेक्सावाला वहीदको कथा हो । तस्रो कथा ‘बड्कन बनियाँको व्यवहार’ मा बड्कन बनियाँको ठगी र पतिराम अहिरको सरलपनाको बीचमा द्वन्द्व छ भने ‘वसुन्दरीको छोरा’ भन्ने कथामा माओवादी द्वन्द्वमा पति गुमाएकी वसुन्दरी नामक महिलाको सङ्घर्षगाथा भेटिन्छ । त्यस्तै ‘गौना’ भन्ने कथामा चनरमति नामक युवतीको आँट र ‘फताह’ नामक कथामा मुस्लिम समाजभित्रको कट्टर वर्ग तथा उदार वर्गबीचमा हुने अन्तर सङ्घर्षको बयान छ । ‘झुट्टै आशंका’ भन्ने कथामा तराईमा चलिरहेको हत्याहिंसाको बीचमा काम गर्न विवश कर्मचारीको पीडालाई दर्शाइएको छ भने ‘माथिको आदेश’ भन्ने कथामा एकजना इमान्दार प्रहरीको मनोदशालाई चित्रण गरिएको छ । सङ्ग्रहको नवौं कथा ‘मुसे रैदासको स्वीकारोक्ती’ मा आफ्नो मातृभूमिदेखि धेरै टाढा भारतको मुम्बईमा पुगेका नेपाली नागरिकहरु मुसे रैदास र बट्टे सुनवारको आत्मीयता, जातीय सौहाद्र्रता तथा देशको सम्झनाको चित्रण छ भने ‘राम नयनले मुक्ति चाह्यो’, ‘रुपान्तरण’ र ‘रतनगंजको लोकतन्त्र’ नामक तीनओटा कथाले पार्टीगत राजनीतिको चक्रव्युहमा क्षत्विक्षत् तराईको सामाजिक सद्भावको चर्चा गरेका छन् । त्यस्त,ै ‘ताण्डव नृत्य’ नामक कथामा नेपाली भूमिमा अनधिकृत रुपमा प्रवेश गरेर सताउने भारतीय सीमा सुरक्षाबलको ज्यादतीका प्रसङ्गहरु छन् भने ‘शिवपुजनको अठोट’ मा शिवपुजन कुर्मी नामक एकजना तराईबासी नेपाली नागरिकको राष्ट्रप्रेम तथा ‘स्वाभिमानी राधे’ नामक कथामा तराईमा क्रियाशील भूमिगत सङ्गठनको प्रतिरोध गर्ने एकजना साहसी व्यावसायीको मनोदशाको चित्रण गरिएको छ ।

समग्रमा भन्दा ‘रतनगंजका कथा’ नेपालको दक्षिणपट्टि भारतीय सीमासित जोडिएको भूभागका घटना तथा परिघटनाहरुको अभिलेख र तराईको जनजीवनको यथार्थताको दस्तावेज बन्न पुगेको छ । 

सङ्ग्रहको भूमिकामा कथाकार वासु जमरकट्टेल आफै भन्छन्— ‘मान्छेले आफूलाई जे सोचे पनि यही भूमण्डलको घुमन्ते मात्रै हो भन्ने ठान्दछु म । कल्पना, सपना जेजे भए पनि आखिर उसलाई बाध्य भएर यही धरतीमा जिउनु छ । यिनै मान्छेसँगको भेटघाट, नचाहे पनि यही भूमण्डलका मान्छेको हो सहारा उसलाई । प्रतिस्पर्धा उसैसँग । मान्छेको अस्तित्व मेटाउने, बचाउने, बनाउने सबै उसैले हो ।’ यस भनाइमा कथाहरुको सार कविताको रुपमा बोलिएको प्रतीत भैरहेको छ ।                                    [email protected]

No comments:

Post a Comment