लघुकथा
पैसा
– भरतमणि भट्टराई
टेकबहादुर थापा बेलायती सेनामा धेरै वर्ष काम गरेका निवृत्त मेजर हुन् । उनी पोखराको मिलनटोलमा बस्थे । उनका चार भाइ छोराहरू पनि विदेशमा नै नोकरीमा थिए । उनको सम्पत्ति अथाह थियो । पोखरामा दुई ओटा तीन तले घर, घडेरीहरू, गाउँतिर त्यतिकै जग्गा जमिन, नगद पनि त्यतिकै रहेको उनी कुराकानीका क्रममा बताउँथे । उनी श्रीमतीसँग एक छिन पनि छुटिँदैनथे । श्रीमती रोगी, हिँड्न नसक्ने भए पनि सँगै लिएर हिँड्न उनी रुचाउँथे । खानेकुरा पनि श्रीमतीलाई मन पर्ने ल्याउँथे उनी । छिमेकीहरू हाम्रो पनि यस्तै सम्बन्ध भइदिए भन्ने लोभ गर्दथे ।
लघुकथाकार भरतमणि भट्टराई |
बेलायत जाँदा र आउँदा श्रीमतीलाई पनि सँगै लग्थे उनले । यस पटक श्रीमतीले बिरामी भएर जान नसक्ने बताइन् । उनले भनिन्, “यो पटक नजानोस् न ! म बिरामी छु, पकाएर खान पनि सक्दिनँ, नपुग्दो केही छैन हामीलाई । छोडिदिऊँ भत्तासत्ता ? जीवनभन्दा प्यारो पैसा हुँदैन । जाने होइन अबदेखि बुढा, हँुदैन ?” बुढाले त्यति बेला केही बोलेनन् । दुई दिनपछि बुढाले भने, “खाना बनाउनका लागि मान्छे खोजेको छु । नआत्तिइकन बस्नू । म छिट्टै फर्कन्छु ।” उनी बेलायत गए ।
त्यति बेला बेलायत कोरोनाले आक्रान्तै थियो । टेकबहादुरलाई पनि कोरोनाले समात्यो । आफन्तले तुरुन्तै हस्पिटल पनि लगे तर उनी बाँच्न सफल भएनन् । त्यसको पाँच दिनपछि जहाजबाट लाशको बाकस घरमा आइपुग्यो । पैसाका घमण्डले अनाहकमा ज्यान गुमाउनुपरेकोमा श्रीमती तथा परिवारलाई पछुतो भयो । ल्याइएको लाशको पनि कोरोनाका डरले ठेगान लगाउन मुस्किल बन्यो ।
पोखरा–१०, मिलनटोल, कास्की
No comments:
Post a Comment