देवी, फूल र किचकहरू – रामेश्वरी पन्त - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

देवी, फूल र किचकहरू – रामेश्वरी पन्त

देवी, फूल र किचकहरू

                 – रामेश्वरी पन्त
                       


सृष्टिकालदेखि अहिलेसम्म आइपुग्दा परिवर्तनका अनगिन्ति शृङ्खलाहरू पार भए र भइरहेछन् तर पनि नारीप्रतिको आम धारणामा खासै परिवर्तन आउन सकेको देखिँदैन । नारीलाई कमजोर प्राणी र पुरुषको मन बहलाउने वस्तु र एउटी सेविकाभन्दा माथि उठेर उसको परिभाषा गर्न कुनै पनि पुरुष त्यति सजिलै चाहन्न त्यसैले पनि नारीको सबैभन्दा राम्रो परिभाषा भन्दै कैयौं कवि, लेखक तथा दार्शनिकहरूले भनेका छन्– ‘नारी फूल हो । ऊ फूलजस्तै सुन्दर र सुकोमल छे ।’ 
नारी फूलजस्तै छ रे ! सौन्दर्यमा अनि कोमलतामा । समाजबाट नारीले पाएको जन्मजात परिभाषा हो यो ।  सुप्रसिद्ध नारीवादी लेखिका मेरी उलस्टोन क्राफ्टले भनेकी छन्– ‘नारी आफैमा कमजोर र कोमल होइन कि समाजले उसलाई यस्तै भनिदिएको छ र नारी त्यही भ्रममा बाँचेकी छ ।’ हो, त्यही भ्रमले गर्दा नारीले आफूलाई कमजोर ठान्छे, पुरुष आश्रित ठान्छे अनि जीवनभर आफूलाई सुन्दर र कोमल बनाउने प्रयासमा लागिरहन्छे । 
प्रकृतिले सिर्जना गरेका थुप्रै सुन्दर सिर्जनाहरुमध्ये नारी पनि एक हो रे ! अनि त्यो सुन्दर सिर्जनाको संरक्षण गर्ने जिम्मा सृष्टिकालदेखि नै प्रकृति अनि समाजले पुरुषलाई सुम्पेको छ रे ! यस्तै सुनिँदै आएको छ तर पनि युगौंयुगदेखि नै प्रकृतिको यो सुन्दरतम् सिर्जनामाथि पुरुषहरूको अतिक्रमण जारी र≈यो र आजसम्म पनि जारी छ । पुरुष सोच्दछ– नारीको त्यो सौन्दर्य र कोमलता पुरुषकै लागि बनेको हो । त्यही सोचले गर्दा चाहे प्राचीन काल होस्, चाहे आधुनिक काल, चाहे वैदिक काल होस्, चाहे पौराणिक काल, चाहे मानव विकासको चरम उत्कर्षको काल, पुरुषले नारीको त्यो सौन्दर्यमाथि अतिक्रमण गर्न छोडेको छैन, त्यो कोमलतामाथि प्रहार गर्न छोडेको छैन ।  
जसरी भीर, पाखा अनि बगैंचाको शोभा बढाउन पाउनु फूलको अधिकार हो त्यसै गरी, सृष्टिको सौन्दर्य बचाइराख्नु पनि नारीको अधिकार हो तर समाज जतिजति आधुनिकता र सभ्यताका खुट्किलाहरू पार गर्दै गइरहेको छ त्यतित्यति नारी र फूलका अधिकारमाथि आक्रामक बन्दै गइरहेको छ । जसरी असमयमै निमोठिएर फूलले कोठाकोठामा र टेबुलटेबुलहरूमा सजिनुपर्छ त्यसैगरी नारीले पुरुषहरूको निम्ति सजिनुपर्छ, घरभित्र होस् वा घरबाहिर जहाँतहीँ । समाजले नारी र फूललाई उस्तैउस्तै रुपमा उपयोग गरिरहेछ । 
मानिसले न त फूलको सौन्दर्यलाई न नारीको सौन्दर्यलाई संरक्षण गर्न जानेको छ । ऊ हेरेर मात्र सन्तुष्ट हुन सक्दैन त्यो सौन्दर्य । जसरी फूल देख्नासाथ नजरले त्यसको सौन्दर्य पान गरी सन्तुष्ट हुन सक्दैन मान्छे र चट्ट चुँडेर नाकमा लैजान्छ, सुँघ्छ अनि सन्तुष्टिको लामो सास तान्छ । त्यसपछि खेलाउँदा खेलाउँदै त्यसलाई कच्याककुचुक पारेर भुइँमा फाली कुल्चेर हिँड्छ । त्यसैगरी नारीको सौन्दर्यलाई पनि फूललाई जस्तै सुँघ्न, गिजोल्न र कच्याककुचुक पारेर फाल्नमा आनन्द ठान्दछ मान्छे । यी दवैको अस्तित्वमाथि धावा बोलिरहन्छ निरन्तर निरन्तर र संरक्षण गर्नभन्दा कुरुप बनाई छोड्नमा उद्धत हुन्छ मान्छे । यहाँ मान्छे भन्नाले पुरुषलाई संकेत गरिएको छ, त्यही पुरुष जो युगौंयुगदेखि नारी सौन्दर्यको दुश्मन बनिरहेछ । 
सुन्दर नारी र सुन्दर फूल ! भेट्यो कि निमोठ्न, सुँघ्न र कच्याककुचुक पारेर फाल्न मन लागिहाल्छ उसलाई । नारी सौन्दर्यमाथि पुरुष अतिक्रमणकै कारण संसारमा ठूलाठूला महाविनाश र उथलपुथलहरू भएको कुरा मिथक एवम् इतिहासमा पाइन्छ । माता दुर्गाको सौन्दर्यमाथि अतिक्रमण गर्न खोज्दा शुम्भ निशुम्भजस्ता महापराक्रमीहरू पनि मृत्युको मुखमा पुग्नुपरेको थियो र दानव जातिकै अस्तित्व संकटमा पर्न गएको थियो । 
नारी सौन्दर्यलाई सहन गर्न सक्ने धीरता नहुँदा पुरुष अतिक्रमणले कतिपय ठाउँमा नारीको त्यो सुन्दरतालाई नै कच्याक्कुचुक्क पारेर अत्यन्त कुरुप बनाइदिएका पौराणिक मिथकीय घटनाहरु प्रशस्त पाइन्छन् । माता पार्वतीको सौन्दर्यमाथि आँखा लगाउँदा जालन्धरजस्तो शक्तिशाली योद्धाको पतन मात्र भएन कि जालन्धरप्रतिको प्रतिशोधले उसकी निर्दोष पत्नीको सतित्वसमेत विष्णुबाट खण्डित हुन पुग्यो र ती सुन्दर नारीको सौन्दर्य कुरुप बन्यो, तहसनहस बन्यो । सीताको सौन्दर्यलाई रावणले सहन सकेन र अतिक्रमण गर्ने दुष्प्रयास गर्दा रावणसहित वैभव र विज्ञानले पूर्ण लंकाको विनाश मात्र भएन कि उसकै कारण सीताको सौन्दर्यमा धब्बा लाग्यो र उनको जीवन–सुखको अन्त्य भयो ।
आÇनैै छोरीको सौन्दर्यलाई सहन गर्न सकेनन् रे सृष्टिकर्ता ब्रम्हाले ! त्यस्तै गुरुमाता (बृहस्पतिकी पत्नी जुहू)को सौन्दर्य देख्न सकेन चन्द्रले र उसको कामुक व्यवहारकै कारण जुहूलाई बृहस्पतिले बेघर गरका थिए रे ! यद्यपि स्वयम् बृहस्पतिले नै पनि आÇनै भाउजू (उतथ्यकी पत्नी ममता)को सौन्दर्यमाथि अतिक्रमण गर्दै गर्भवती अवस्थामा जबर्जस्ती यौनसम्पर्क गरेको कुरा पौराँणिक कथाहरूमा पढ्न पाइन्छ । इन्द्रले अहिल्याको सौन्दर्यमाथि अतिक्रमण गरी जबर्जस्ती गर्दा उनका पति गौतम ऋषिले श्राप दिएर पत्थर बनाइएदिए अर्थात् इन्द्रका कारण अहिल्याको जीवन पत्थरसमान हुन पुगेको थियो रे ! 
द्रौपदीको सौन्दर्यमाथि परिवारभित्रै र बाहिरकाबाटै पटकपटक अतिक्रमण हुन पुग्यो । आÇनैै देवरहरू दुर्योधन, दुःशासनदेखि ज्वाइँ जयद्रथले उनको अस्मितामाथि धावा बोले । महारानी हुँदा होस् वा नोकर्नी हुँदा, द्रौपदीको सौन्दर्यमाथि पुरुषका कुदृष्टि रोकिएनन् तर द्रौपदीको सौन्दर्यमाथि अतिक्रमण गर्न खोज्ने कसैलाई उनले जीवित रहन दिइनन् । अत्यन्त शक्तिशाली सेनापति किचक कच्याक्कुचुक् भयो, जयद्रथको टाउको छिनियो, दुर्योधनको जङ्घा तोडियो, दुःशासनको छाती चिरियो । पौराणिक कालमा यस्ता अतिक्रमणका घटनाहरु जति भएका देखिन्छन्, आजको समाजमा झन् बढी भइरहेका छन् । हाम्रो समाजमा आज पनि दुर्योधन, दुःशासन र किचकहरूको कमी छैन । किचकहरू सौन्दर्यलाई सहन गर्न सक्दैनन् र नै त जाइलाग्छन् नारी सौन्दर्यमाथि, नारी अस्मितामाथि तर द्रौपदीहरू जन्मिन सकेका छैनन्, कुनै भीमहरू जन्मिन सकेका छैनन् र त दिनहुँ नारी अस्मितामाथि अतिक्रमण बढिरहेछ !
नारीलाई देवी भनेर पनि परिभाषित गरिन्छ । पुजिन्छ उसलाई नवरात्रमा नौ दिन ! तर बाँकी सबै दिन उसलाई वस्तुको रुपमा प्रयोग गरिन्छ । त्यही नवरात्रमै पनि कैयौं नारीलाई किचकहरूले झम्टिन्छन्, चाहे बालिका होस्, चाहे वृद्धा, चाहे छोरी बुहारी होस्, चाहे प्रेमिका ! केही वर्षअघि मात्रको उदाहरण प्रस्तुत छ यहाँ– नवरात्रको नवमीको दिन अर्थात् मातृशक्ति पुजिने दिन अछामको प्रहरी चौकीमा आÇनैै सहकर्मी प्रहरीबाट लुटिएकी थिई महिला प्रहरी सुन्तली धामी । हल्ला चल्यो, सुन्तली निकै सुन्दरी थिई रे ! त्यसैले छ जना किचकहरूले उसमाथि जाइलागे र कच्याककुचुक पारे उसको सौन्दर्यलाई । 
किचकहरू सौन्दर्यलाई सहन गर्न सक्दैनन् र त जाइलागे सुन्तलीमाथि तर सुन्तली दुर्गा वा काली बन्न सकिन । सुन्तली द्रौपदी बन्न सकिन, आफूलाई जोगाउन सकिन, किचकहरूलाई मृत्युदण्ड दिन सकिन । न त उसको पति भीम नै बन्न सक्यो । आज कैयौं नारीहरू सुन्तलीको नियति भोग्न बाध्य छन् तर किचकहरूले उन्मुक्ति पाइरहेछन् ।
नारी देवी हो रे ! नबोल्ने । चुपचाप सहने । किनकि उसले बोल्नुहुँदैन रे ! तर नारी अब खोपीमा राखेर पुजिने देवीजस्तो बन्नु्हुँदैन, जे गरे पनि नबोल्ने, चुपचाप हेरिरहने किनकी पुरुषलाई देवी मन पर्छ, नारी हैन, जो बोलोस्, आÇनौ अधिकार खोजोस्, ! समयले धेरै कोल्टे फेरिसकेको छ । त्यसैले देवी होइन अब मानिस बन्नुपर्छ नारीले ! बदल्नुपर्छ यो परिभाषा ऊ आफैले । स्वअस्तित्वको लागि पनि नारीले अब आÇनैो परिभाषा बदल्नुपर्छ । आफुलाई चिन्नुपर्छ उसले । 
फूल भनिएकी नारीमाथिको अतिक्रमण दिनहुँ बढिरहेछ । बलात्कारका घटना बिभत्स रुपमा दिनदिनै बढिरहेछन् त्यसैले अब नारीको यो परिभाषा पनि बदलिनुपर्छ । ऊ केवल सुन्दर र कोमल फूल भएर पुरुष मनोरञ्जनको साधन बन्नु हुँदैन । आगो ओकल्नु पर्छ उसका ओठहरूले र भष्म पार्नुपर्छ उनीहरूलाई जसले उसको अस्मितामाथि धावा बोल्दै उसको सौन्दर्यलाई कच्याककुचुक पार्न खोज्छन् । साहित्यकार पारिजातले शिरिषको फूलमा नारीहरूलाई ‘इन्सेक्ट किलर’ बन्न सुझाएकी छन् फूल सम्झनेहरूको निम्ति । आगो ओकल्न भनेकी छन् । नारीवादी लेखिकाहरू मेरी उलस्टोन क्राफ्ट हुन् वा एभलिन रिड, सिमोन दि बौबार हुन् वा कमला भसिन सबैले नारीलाई वस्तुबाट माथि उठ्दै मानिस बन्न आव्हान गरेका छन् । आफूलाई सुन्दर वस्तुको रुपमा प्रस्तुत नगर्न सुझाएका छन् । 
मेरी उलस्टोन क्राफ्टले नारीलाई जबर्जस्ती कमजोर बनाइएको हो भनेकी छन् र शिक्षा र बौद्धिक चेतनाले नै नारीलाई वस्तुबाट मानिस बनाउन सक्छ भन्दै शिक्षामा जोड दिएकी छन्, त्यस्तो शिक्षा जसले व्यावहारिक रुपमा नारीको बौद्धिक विकास गर्न सकोस् । उनी भन्छिन््– ‘पुरुषले नारीलाई केवल यौनिक रुपमा मात्र प्रेम गर्छ ।’ 
त्यस्तै, एभलिन रिडले भनेकी छन्– ‘पुरुष यौन चरित्रको प्राकृतिक विशेषता नै ध्वंसात्मक चरित्र हुनु हो ।’ सायद यही कारण हुन सक्छ, पुरुषभित्रको कामुकताले पशुभन्दा पनि तल्लो स्तरमा उत्रेर नारी अस्मितामाथि जाइलाग्छ र त्यतिबेला उसको नजरमा नारी केवल उसको हवसलाई शान्त पार्ने साधन बाहेक केही देखिन्न ।
अर्की प्रसिद्ध नारीवादी लेखिका कमला भसिन भन्दछिन्– ‘नारीहरूमाथिका अनेक प्रशंसा केवल भावनात्मक जाल हो ।’ यी त भए नारीप्रतिको पुरुष दृष्टिकोणलाई नारीहरूले भनेका कुरा । 
विभिन्न पुरुष दार्शनिक तथा साहित्यकारहरूले नारीलाई केवल यौनिक रुपमा मात्र हेरेका छन् र कामुक रुपमा प्रस्तुत गरेका छन् । दार्शनिक रुसोले नारीलाई कमजोर र पराधिन ठान्दै सुन्दर हाउभाउसहित पुरुषको लागि प्रस्तुत हुन र पुरुषको दासत्व स्वीकार्न भनेका छन् । 
त्यस्तै, मिल्टनले भनेका छन्– ‘महिलाहरू कामुकता र मधुर आकर्षक सुन्दरताको लागि नै सिर्जित हुन्छन् ।’ त्यसैगरी, अर्का साहित्यकार मूसाले पनि नारीलाई पुरुषको मनोरञ्जनको साधन मात्र देखे । उनले नारीलाई पशुसँग तुलना गर्दै पशुजस्तै जुवामुनि आÇनैो गर्धन थाप्नु नारीको कर्तव्य ठाने । त्यसो त नेपालकै महान् साहित्यकार मदनमणि दीक्षितले माधवी उपन्यासमा नारीलाई यौनिक वस्तुको रुपमा अत्यधिक रुपले प्रस्तुत गरेका छन् र जति नै बौद्धिकताले सिंगारे तापनि माधवीलाई जुवामुनि गर्धन थाप्न बाध्य बनाएका छन् अनि स्त्री र रत्न भोग्नैका लागि हुन् भन्ने वाक्यलाई पटक पटक दोहो¥याएका छन् । 
पुरानाको त के कुरा भयो र ! नेपाली साहित्यमा आजका आधुनिक भनिएका नयाँ पुस्ताका साहित्यकारले पनि नारीको साहसिकतालाई नजरन्दाज गर्दै नारीलाई केवल यौनिक रुपमा नै प्रस्तुत गरेका छन् । सबैको नाम नलिएर पछिल्लो पुस्ताका मदन पुरस्कारप्राप्त सर्जक अमर न्यौपानेलाई नै हेर्दा उनको उपन्यास सेतो धर्तीमा जति नै नारीको कारुणिकतालाई व्याख्या गर्न खोजिए तापनि एउटी बाल विधवा, जसले पतिको अनुहार पनि राम्रोसँग देख्न पाएकी हुँदिन उसलाई असी वर्षको उमेर नाघिसक्दासम्म पनि यौन अतृप्तिकै मानसिकतामा रुमल्याइदिएका छन् । त्यसो त नारीलाई यौनिक र कामुक रुपमा प्रस्तुत नगरेसम्म साहित्य सिर्जना हुनै सक्दैन भन्ने मानसिकताबाट आजका पुस्तासमेत मुक्त हुन नसक्नुबाट पुरुषको नारीप्रतिको सोचाइ छर्लङ्ग हुन्छ जुन सोचाइबाट आजको समाज निर्देशित छ । पुरुष मस्तिष्कबाट जे लेखिए त्यही पढिए, त्यही सिकाइए र त्यसैअनुरुपका व्यबहारहरू नारीमाथि हुँदै आए र भइरहेछन् ।
अब रह्यो नारीको कुरा । के नारी स्वयम् नै आपूmलाई यौनिक रुपमा प्रस्तुत गर्न चाहन्छे ? केही हदसम्म यो प्रश्नलाई नकार्न सकिँदैन । नारी स्वयम् नै पनि आपूmलाई सकेसम्म शृङ्गगारपटार गरेर पुरुषको अगाडि प्रस्तुत हुन चाहन्छे तर उसलाई थाहा हुँदैन, यसो गर्दा ऊ केवल पुरुषको मन बहलाउने वस्तु बनेकी हुन्छे । समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको वस्तुवादी सोच र उपभोक्तावादी संस्कृतिका कारण नारीहरू वस्तुमा परिणत भैरहेका छन् जानेरै वा नजानेरै । अशिक्षितको त कुरै अलग भयो, शिक्षित भनिएका महिला पनि वस्तुमा परिभाषित भइरहेका छन् । त्यसो त अहिलेसम्म नारीले पाइरहेको भनिएको संस्कार र शिक्षाले उनीहरूमा आत्मज्ञान र आत्मचेत भर्न सकेको छैन । उनीहरूलाई वास्तवमा नारी के हो भनेर चिनाउन सकेको छैन त्यसैले त उनीहरू आपूm शोषित भइरहेको पत्तै छैन । 
पुरुषले नारीको प्रशंसा गर्दा देवी र फूलमात्र होइन, कहिलेकाहीँ जूनसँग पनि तुलना गर्ने गर्दछ तर उसको घर, परिवार, समाज र संसारलाई सृष्टिको दियो बालेर उज्यालो बनाउने त्यही नारीको शरीरमाथि हिंस्रक रुपमा जाइ लागेर उसको जीवनलाई नै अन्धकार बनाइदिन्छ । आज समाजमा दिनहुँ बढ्दै गइरहेका महिलामाथिका हिंसा र बलात्कारका घटनाहरूले यही कुरा बताइरहेको छ । 
एककाइसौं शताब्दीमा आइपुग्दा पनि नारी त्यही पुरुषले, त्यही समाजले युगाँैपहिले दिएको परिभाषामा मख्ख परिरहने त ? के नारीले आÇनैो परिभाषा आफै लेख्न सक्दैनन् ? आÇनैो लागि आफै बाँच्न सक्दैनन् ? यदि पुरुषले नारीको सहअस्तित्व स्वीकार गरेर नारीलाई वस्तुबाट मान्छे बनाउनमा आÇनैो मस्तिष्कलाई अलिकति खर्च गर्न सक्ने हो भने, र, नारीले आफू स्वयम्लाई मान्छे बनाउने प्रयासमा लागेमा पक्कै पनि नारीका आदिम परिभाषाहरू फेरिने थिए । नारी सौन्दर्यको परिभाषा फेरिने थियो अनि नारी अस्तित्व माथिको अतिक्रमण रोकिने थियो । 

No comments:

Post a Comment