समतामा सन्ध्या नायक ईश्वरमणि - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, March 16, 2025

समतामा सन्ध्या नायक ईश्वरमणि

 


पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा गर्दै आइरहेको कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७९ औँ शृङ्खला साहित्यकार डाईश्वरमणि अधिकारीको सन्ध्या नायकत्वमा सम्पन्न भयो ।

कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठले कवि अधिकारीका विचार तथा चिन्तनले माझिएका कविताहरूको स्पर्श सामर्थ्यको प्रशंसा गर्दै समता काव्य सन्ध्याले आफ्नो ३ दशक लामो यात्रामा नेपाली साहित्यले गर्व गर्ने डाअधिकारी जस्तै थुप्रै साहित्यकार जन्माइसकेकोमा खुसी व्यक्त गरे । सन्ध्या नायक अधिकारीले समता र कविता सम्बन्धी आफ्ना केही कुराहरू राख्दै सानु साथी, जानेहरूलाई, फरार, सम्बोधिका र साबिती शीर्षकका पाँचवटा आफ्ना उत्कृष्ट कविताहरू वाचन गरे । कविता लेख्नु आफ्ना लागि जीवन जिउने यौटा कला तथा साधना भएको बताउँदै कवि अधिकारीले समता र पोयुसांप आफ्ना लागि कविताको घर र आराधना गर्ने थलो रहेको र आफू १७ औँ सन्ध्यादेखि समतासित जोडिएको स्मरण गरे ।

संस्थाकी सल्लाहकार सरस्वती प्रतीक्षाले कवि अधिकारी एकसाथ मष्तिस्कका दुइटै पाटा उत्तिकै सक्रिय ढङ्गले चलाउने अदभूत प्रतिभा भएको साहित्यकार र गणितज्ञ भएको उल्लेख गर्दै शुभकामना तथा सदिच्छा राखिन् । यो महिना कवि वासु शशीको जन्म महिना पनि परेकोले साहित्यकार दीपक समीपले कवि वासु शशीको बारेमा सङ्क्षिप्त जानकारी दिँदै उनी लिखित कविता पनि वाचन गरे । कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’, जगन्नाथ रेग्मी, भूमिराज बस्ताकोटी, अमृत क्षेत्री, तारानाथ पराजुली, शरण आँशु , पूर्णिमा प्रतिबिम्ब, हिममाया पौडेल, अमृता पोखरेल, छन्दिका, समीप बैरागी, दीर्घराज गिरी ‘प्रियसी’ले आफ्ना रोज्जा कविता वाचन गरेका थिए । संस्थाको साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने सञ्चालन संस्थाका सचिव एमडी काफ्लेले गरेका थिए ।

 

No comments:

Post a Comment