चितवन साहित्य परिषद्बाट समालोचक रमेश प्रभात पुरस्कृत - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, December 31, 2024

चितवन साहित्य परिषद्बाट समालोचक रमेश प्रभात पुरस्कृत



भरतपुर । १४१ औँ लेखनाथ जयन्तीका अवसरमा चितवन साहित्य परिषद्मा समालोचक रमेश प्रभात पुरस्कृत भएका छन् । चितवन साहित्य परिषद्ले समालोचक रमेश प्रभातको समालोचना कृति `अलिकति फरक कुरा´ लाई `चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार २०८०´ बाट पुरस्कृत गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी साहित्यकार रमेश प्रभातले वि.सं.को ४० को दशकदेखि हाइकू, गजल, मुक्तक, कविता तथा समालोचना विधामा कलम चलाउँदै आएका छन् । उनको साहित्यिक योगदानको कदर गर्दै चिसापका अध्यक्ष केदारनाथ खनालले यो पुरस्कार दिइएको बताए ।

चितवनको रत्ननगर नगरपालिका बकुलहर स्थायी घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गरेका थिए भने हाल यसको अक्षयकोष साँढे दुइ लाख राशिको छ । वि.सं. २०७१ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष कवि लकाश पौडेलको महाकाव्य ‘शौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह `सिडिओका सत्र वर्ष´,  २०७३ सालमा सुमन घिमिरेको `मौनता´ उपन्यास र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह `पुस्तकालयको भोक´ लाई संयुक्त रूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिंह थापाको कवितासङ्ग्रह `सहयात्री शब्दहरू´ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह `बतासा´ लाई संयुक्त रूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेको `मिझोर´ कवितासङ्ग्रहले प्राप्त गरेको थियो । त्यसैगरी २०७६ सालमा गणेश श्रमणको `गुलियो काठमाडौँ´ र लक्ष्मण अर्यालको `औंला´ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको `अनुक्रोस´ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुको `अनुहारमा आप्पा´ र कृष्णशरण उपाध्याय `अनेक प्रश्न´ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीको `टुवरा´ उपन्यासले यो पुरस्कार प्राप्त गरेको थियो ।

चिसापको हलमा आयोजित उक्त कार्यक्रममा चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगरप्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गरेका थिए । उक्त पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले लिखित टिप्पणी राखेका थिए । टिप्पणी राख्ने क्रममा उनले रमेश प्रभात खरो खालको समालोचक भए पनि `अलिकति फरक कुरा´ मा केही नरम भएर प्रस्तुत भएको धारणा राखे । त्यति मात्र नभएर कविडाँडा वरपरका समकालीन साथीका कृतिहरू समालोचकका नजरमा किन परेनन् ? भनेर प्रश्न पनि उठाए । 

उक्त कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्रा.डा. नारायणप्रसाद खनालले चर्चा गरेका थिए । त्यस्तै देवघाटका चेलीहरूले लेखनाथका कविता वाचन गरेका थिए भने विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, राजेन्द्र घायल लगायतका कविहरूले पनि कविता वाचन गरेका थिए । त्यस्तै कविडाँडा साहित्य समाजका अध्यक्षा एलबी क्षेत्री र कवि तथा समालोचक सरस्वती रिजालले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण शान्ति शर्माले गरेकी थिइन् ।


No comments:

Post a Comment